Logo

मेक्सिकोका लिजेन्ड ह्युगो सान्चेस



Spread the love

एजेन्सी । ह्युगो सान्चेस मेक्सिकोका लिजेन्ड्री फुटबल खेलाडी हुन् जो फर्वाडको रुपमा मैदानमा उत्रिन्थे । सान्चेसले उत्तर अमेरिका र यूरोपका उत्कृष्ट क्लबहरुमा खेलेका छन् । उनी मेक्सिकोका सदावहार खेलाडी हुन् । उनले प्रशिक्षकको रुपमा क्लब र मेक्सिकोको राष्ट्रिय टिममा रहेर काम पनि गरेका छन् ।

उनको जन्म मेक्सिको सिटीमा सन् १९५८ को नोभेम्बर ७ मा भएको थियो । उनका बुवा हेक्टर सान्चेस पनि व्यावसायिक फुटबल खेलाडी थिए । युवा अवस्थामा यूनिभर्सिडाड नेसनल क्लबमा राम्रो प्रदर्शन गरेका सान्चेसलाई राष्ट्रिय टिममा आफ्नो प्रदर्शन देखाउने अवसर मिल्यो । सन् १९७५ मा उनले राष्ट्रिय टिमको रुपमा पान अमेरिकन गेम्समा भाग लिएका थिए । त्यसको एक वर्षपछि उनले समर ओलम्पिकमा भाग लिए, जहाँ उनले फ्रान्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरे । उनी खेलबाट धेरैको नजरमा आए । त्यसपछि भने उनले क्लब यूनिभर्सिडाड नेसनल क्लबबाट सिनियर करियरको सुरुवात गरे ।

छोटो समयमा नै सान्चेसले आफूलाई अरुसामु गोलमेसिनको रुपमा चिनाए । प्रिमियर डिभिजनमा प्रवेश गरेको दोस्रो सिजनमा उनले २६ गोल गरेका थिए । नेसनल अटोनोमस यूनिभर्सिटी अफ मेक्सिकोको लागि उनी वरदान सावित भए ।

उनको खेलले यूरोपका ठुला क्लबहरुलाई आकर्षित गराइछाड्यो । अन्ततः उनी सन् १९८१ मा ला लिगा साइड एट्लेटिको मड्रिडमा खेल्न थाले । सुरुको सिजनमा भने उनले २० खेलमा जम्मा ८ गोल गर्न सफल भए । ४ सिजन एट्लेटिको मड्रिडमा रहँदा उनले कोपा डेल रे र सुपर कोपा ट्रफी क्लबलाई जिताएका थिए । उनले एट्लेटिको मड्रिडको लागि १५५ खेलमा ८२ गोल गरे । एट्लेटिको मड्रिडमा उनी पहिलो पटक पिचिची अवार्डद्धारा सम्मान  गरियाे ।

४ सिजन एट्लेटिको मड्रिडमा रहेर खेलेपछि उनी विपक्षी टिम रियल मड्रिडमा अनुबन्ध भए । पहिलो सिजनमा नै उनले रियल मड्रिडलाई यूईएफए कप जिताए । लगातार चार सिजनसम्म ला लिगा र स्पेनमा उनले जति गोल कसैले गर्न सकेनन् । त्यो समयलाई उनले मड्रिडको सूनौलो युगको रुपमा स्थापित गरे । उनले रियल मड्रिडलाई लगातार पाँच पटक ला लिगा ट्रफी, तीनवटा सुपर कोपा र एउटा कोपा डेल रे ट्रफी प्रदान गरे । उनले रियलको लागि २८३ खेलमा २०८ गोल गरे ।

सन् १९९३ मा रियल मड्रिड छाडेपछि उनी अमेरिका, मेक्सिको, स्पेन र अस्ट्रिया लगायतका देशका क्लबबाट खेल्न सुरु गरे । सान्चेसले राष्ट्रिय टिममा रहेर ५८ खेलमा २९ गोल गरेका छन् । उनले मेक्सिकोलाई सन् १९८६ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुर्याएका थिए । क्वार्टरफाइनलमा मेक्सिको वेस्ट जर्मनसँग हारेको थियो । सान्चेसले सन् १९७५ को पान अमेरिकन गेम्स प्रतियोगिता र सन् १९७७ को कोन्काकाफ गोल्ड कप दिलाए ।

उनले मेक्सिकोमा फुटबललाई जुन योगदान दिए, त्यो आजसम्म कसलै दिन सकेको छैन । बाइसाइकल किक र स्कोर्पियन किकलाई पपुलार उनलै बनाएका हुन् । उनी विशेषगरी बक्सको आउटसाइडबाट नै गोल गर्थे । उनले सन् १९८५ देखि १९८८ सम्म लगातार चारवटा पिचिची अवार्ड जिते । उनी ला लिगामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा रहेका छन् ।

सन् १९९७ मा सान्चेसले स्पेनिश फुटबलबाट सन्यास लिए भने उनको अन्तिम खेल सन् १९९८ को विश्वकप क्वालिफायर्समा थियो ।सान्चेस सन् २०१० मा गोल्डेन फुट लिजेन्ड अवार्डद्धारा सम्मानित पनि भएका थिए । आईएफएफएचएसले बीसौँ शताब्दिको २६ औँ खेलाडीको रुपमा सान्चेसलाई राखेको थियो । यसैगरी उनी फिफाको उत्कृष्ट जीवित सय खेलाडीको सूचिमा पनि परेका थिए ।

प्रतिक्रिया दिनुहोस्