Logo

निर्वाचनको तयारी अन्तिम चरणमा



Spread the love

काठमाडौँ, भदौ २४ गते । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष एवं समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम तयारी कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

प्रधानमन्त्री देउवासँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितको आयोगको टोलीबीच शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा यस्तो जानकारी दिइएको हो ।
भेटपछि पत्रकारसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको तयारी, मतपत्रको छपाइ र निर्वाचन आचारसंहिता लगायतका विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको बताउनुभयो ।
यसैगरी पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आयोगको टोलीसँगको छलफलमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि समानुपातिक निर्वाचनको बन्दसूची बुझाउन मिल्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गर्न आग्रह गरिएको बताउनुभयो ।
आयोगका प्रवक्ता नवराज ढकालले दिनुभएको जानकारीअनुसार आगामी प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन तथा मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सहज रूपमा सञ्चालन गर्नका लागि आयोगले गरेका तयारीहरूबारे प्रधानमन्त्री देउवाले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
भेटमा प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तथा आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा आयोगबाट जारी भएका निर्वाचन आचारसंहिताका बारेमा समेत छलफल भएको थियो ।
प्रमुख आयुक्त यादवले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक तथा प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयुक्तहरूले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्ने विषय, राज्य पुनःसंरचनाका लागि गर्नुपर्ने व्यवस्थापकीय कार्य तथा प्राकृतिक प्रकोपबाट पीडित जनसमुदायलाई राहत, उद्धार तथा पुनःस्थापना कार्यमा निर्वाचन आचारसंहिता बाधक नरहेको बताउनुभयो ।
आयुक्तहरूले बाढीपहिरोले भत्काएका भौतिक संरचनाहरूको पुनःनिर्माण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन आवश्यक पर्ने स्रोतसाधनजस्ता विषयमा निर्वाचन आचारसंहिता बाधक नरहेको जानकारी गराइएको प्रवक्ता ढकालले बताउनुभयो ।
यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ भाग लिने राजनीतिक दलहरूलाई भदौ २७ गतेभित्र आयोगमा रहेको समानुपातिक एकाइमा निवेदन प्रस्तुत गर्न आह्वान गरेको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले कान्तिपथस्थित निर्वाचन आयोगको समानुपातिक एकाइमा भदौ २५ गतेदेखि २७ गतेसम्म निवेदन दर्ता गर्नुहुन सबै राजनीतिक दललाई आह्वान गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्