Logo

माघी पर्व र यसकाे महत्व



नेपालीहरुले परम्परागत रुपमा मनाउंदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति ।यसलाई  मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदिकाे नामले पनि चिन्ने गरिन्छ । माघे संक्रान्ति माघ महिनाको पहिलो दिनमा पर्दछ । माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको पाइन्छ ।

माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो भन्ने विश्वास रही आएको छ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ । माघे सक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र र मकलसहितको सीदा दान गरेमाबिशेष प्राप्त हुने र उक्त फल आफूले खाएमा शरीर पोषिलो हुनुका साथै रोगव्याधी नलाग्ने कुराको उल्लेख धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएकाे छ । विविध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ ।

तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन् । पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई “निशो” ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ

तिलका लड्डु, चाकु, तरुल, घिउ र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाद्य सामाग्रीहरुको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्