Logo

मङ्गलबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला हुने



Spread the love

काठमाडौँ, भदौ २५ गते । आगामी दसैँका लागि भदौ २७ गतेबाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भदौ २२ गतेबाट खुला गर्ने भनिए पनि यातायात व्यवसायीको असहमतिका कारण यातायात व्यवस्था विभागले टिकट खुलाउन सकेको थिएन तर शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले यातायात व्यवस्था विभाग र व्यवसायीलाई बोलाएर तत्काल टिकट बुकिङ खुला गर्न निर्देशन दिएपछि व्यवसायी तयार भएका हुन् ।

मन्त्रीको निर्देशनपछि विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच छलफल भएपछि २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो । हालका लागि बसको क्यारियर (छत) मा यात्रुका सामान राख्न पाउने भएपछि व्यवसायी अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएका हुन् । भाडा समायोजनको मागप्रति कार्यदलले काम अघि बढाइरहेको र क्यारियर राख्न पाउने अवस्था भएकाले व्यवसायी तयार भएको महासङ्घले जनाएको छ ।

 

महासङ्घ अध्यक्ष डोलनाथ खनालले भदौ २७ गतेबाट अग्रिम टिकट बुकिङ खुला गरिने बताउनुभयो । उहाँले भन्नुभयो ‘क्यारियरमा यात्रुको झिटीझाम्टा राख्न पाइने भएको छ, त्यसले सबैलाई सहज बनाएको छ, भाडा समायोजन तत्कालको आवश्यकता होइन प्रक्रिया अघि बढ्छ, हामी २७ गते विल्कुल अग्रिम टिकट बुकिङ खुला गर्छौं । ’
विभागले पनि तत्कालका लागि क्यारियरमा यात्रुको सामान राख्न पाउने व्यवस्था गरिदिएको छ । छतमा यात्रु राख्न नपाइने तर सामान राख्न पाइने विभागले जनाएको छ । महासङ्घले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन र क्यारियर (छत) राख्न पाउनुपर्ने माग गर्दै आएको थियो । यिनै मागहरू पूरा नभएको बहानामा महासङ्घले अग्रिम टिकट बुकिङ खुला गरेको थिएन ।
भदौं २७ गतेबाट देशका विभिन्न क्षेत्रमा जानका लागि गौशला, नयाँबसपार्क, सुन्धारा, बालाजु, कोटेश्वर, कलङ्कीलगायतका स्थानबाट अग्रिम टिकट बुकिङ खुला हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्