Logo

एकल महिनालाई आयआर्जन तालीम



Spread the love

२२ माघ, पाल्पा – यहाँका एकल महिनाको आयआर्जन बढाउन प्रोत्साहनका कार्यक्रम सञ्चालनमा ल्याइएको छ । रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ परालका जुत्ता र धागोको बत्ती बनाउने तालीम सञ्चालनपछि महिला उत्साहित बनेका हुन् । महिलाबाट उत्पादित वस्तुको गाउँपालिकाले नै बजारको व्यवस्थापन गर्दै आएको छ ।

एकल महिलाबाट उत्पादित सामान गाउँपालिकाले नै खरीद गरी बजार व्यवस्थापन गर्ने भएपछि महिला थप उत्साहित भएका हुन् । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले समाजमा आर्थिक, सामाजिक, राजनीतिकरुपमा कमजोर एकल महिलालाई आर्थिकरुपमा सशक्त बनाउन सकेका अवस्थामा सामाजिक रुपमा हित हुने बताए ।

गाउँपालिकाका फेक, ठिमुरे र पालुङ्गमैनादीमा महिलाले आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएका छन् । बत्ती र जुत्ता बनाउन थालेपछि महिला आत्मनिर्भर भएका छन् । आर्थिकरुपमा अरुको भरपर्ने अवस्थाबाट हटाउनका लागि गाउँपालिकाले आयआर्जन बढाउन कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष जिसीको भनाइ छ ।

फेकमा सञ्चालित तालीममा सहभागी १६ एकल महिला परालबाट जुत्ता बनाउने ज्ञान, सीप र क्षमताको अभिवृद्धि हुँदा खुशी देखिएका हुन् । एकल महिला सञ्जाल रिब्दीकोट–८ फेकका अध्यक्ष तारा रायमाझीले आफूहरुले घरमा फुर्सदका समयमा समेत धागोबाट बत्ती र परालबाट जुत्ता बनाउन ज्ञान सिकेको बताइन् ।

हेर्दा सानोजस्तो देखिए पनि यस कामबाट प्रशस्त आम्दानी हुने र एकल महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने देखिएको रायमाझीले बताइन् । अहिले पूजाआजामा धागोको बत्ती र परालको जुत्ताको माग बढ्दो छ ।

जिल्ला समन्वय समितिका सदस्य कमला थापाले एकल महिलाले काम गरेर समुदायको नमूना व्यक्ति बनेर देखाउनुपर्ने बताइन् । महिलाबाट स्थानीयस्तरमा उत्पादित वस्तु सहजरुपमा बजार पाउन सफल भएको गाउँकार्यपालिका सदस्य दानबहादुर कामीले बताए । गाउँपालिकास्तरीय एकल महिला सञ्जाल गठित छ । सञ्जालले गाउँपालिकाका प्रत्येक वडामा एकल महिलामाथि परनिभर्रता हटाउनका लागि तालीम सञ्चालन गर्दै आएको छ । तालीमपछि एकल महिलाका परिवारमा खुशी छाएको छ ।

प्रतिक्रिया दिनुहोस्