Logo

बिदा भए प्रहरी महानिरीक्षक खनाल



Spread the love

२९ माघ, काठमाडाैँ – प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरेको छ । आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले रातिदेखि अनिवार्य अवकाश लिन लागेका खनाललगायत प्रहरी अधिकृतहरुको म‍ंगलबार साँझ एक समारोहका बीच बिदाइ गरिएको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीले उनलाई बिदाइ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । बिदाइ समारोहमा महानिरीक्षक खनालले आफ्नो सेवा अवधिमा धेरै अनुभव सङ्गालेको बताउँदै आफूले विभिन्न आलोचना र आरोपसमेत खेप्नुपरेको प्रतिक्रिया दिए । उनले आफूमाथि गलत आरोप लगाउने प्रयास भएको भन्दै दुखेसो पनि गरेका थिए ।

सो क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले सङ्गठनको नेतृत्व लिएर वर्तमान प्रहरी महानिरीक्षक खनालले सेवा अवधिमा गरेको कामको खुलेर प्रशंसा गरेका थिए । उनले प्रहरी महानिरीक्षक खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएर समाज र प्रहरीलाई जोड्ने काम गरेको बताए । उनले आगामी दिनमा सङ्गठनलाई चलायमान गराउन सबैको साथ र सहयोगको अपेक्षा राखे । अवकाश लिएका प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकको समेत मंगलबार नै बिदाइ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्