Logo

च्याम्पियन्स लिग: मड्रिड र युभेन्टसको हार



Spread the love

१५ फागुन, एजेन्सी – गए राति सम्पन्न भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम- १६ को पहिलो लेगमा स्पेनिश महारथी रियल मड्रिड इङ्ग्लिस क्लब म्यान्चेस्टर सिटीबाट पराजित भएको छ ।
सिटीले मड्रिडलाई उसकै घरेलु मैदानमा २-१ ले हराएको हो ।

दुबै टिम बिच भएको पहिलो हाफको बराबरीलाई मड्रिडका इस्कोले खेलको ६० औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८ औँ मिनेटमा ग्याब्रियल जिससले मड्रिडबिरुद्ध गोल फर्काइ बराबरमा ल्याए । केभिन डी ब्रुइनाले खेलको ८३ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दा सिटीले मड्रिडको घरमा २-१ को जित निकाल्न सफल भयो । गोल गरेसँगै ब्रुइनाले सिटीका लागि ५० गोल गरेका छन् । खेलको ८६ औँ मिनेटमा सर्जिओ रामोसले रातो कार्ड पाएपछि मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

मड्रिडको घरेलु मैदानमा ११ वर्षमा पहिलो पटक इङ्ग्लिस क्लबले जित हासिल गरेको हो । सिटीले मड्रिडलाई हराएको पनि यो पहिलो पटक हो ।

दोस्रो लेगको खेल म्यान्चेस्टर सिटीको घरेलु मैदानमा मार्च १७ मा हुनेछ ।

यसै गरी गए राति सम्पन्न भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम-१६ को पहिलो लेगमा इटालीयन क्लब युभेन्टस फ्रास्सेली क्लब लियोनसँग पराजित भएको छ । युभेन्टस लियोनसँग १-० ले पराजित भएको छ ।

लियोनको घरेलु मैदानमा भएको खेलमा लियोनका लुकास टौसार्टले खेलको ३१ औँ मिनेटमा निर्णायक गोल गरे ।

यूरोपियन प्रतिष्पर्धामा पहिलो पटक लियोनले युभेन्टसलाई हराएको हो ।

पाहुना टोली युभेन्टसले खाता पनि खोल्न सकेन ।

दोस्रो लेगको खेल युभेन्टसको घरेलु मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्