Logo

राष्ट्रिय महिला लिग ३ चरणमा हुने



Spread the love

२३ फागुन, काठमाडाैँ – उपप्रमुख राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा ३ चरणमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घद्धारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट शुरु हुने लिग तीन चरणमा खेलाइने जनाएको हो । यसमा पहिलो चरणको खेल धरानको धरान रङ्गशालामा चैत ३ देखि १३ गतेसम्म आयोजना हुनेछ ।

त्यसैगरी दोस्रो चरणको खेल काठमाडौँमा वैशाख पहिलो साताबाट र तेस्रो चरणको खेल विराटनगरको शहीद रङ्गशालामा जेठ तेस्रो साताबाट सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित कूल सात टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसमा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रपुर नगरपालिका रौतहट, विराटनगर महानगरपालिका विराटनगर, चौदण्डीगढी नगरपालिका उदयपुर र वालिङ नगरपालिका स्याङ्जाले खेल्नेछन् ।

डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा कूल ४२ खेल हुनेछ । लिगको विजेता टोलीले रु १५ लाख प्राप्त गर्दा उपविजेताले रु आठ लाख प्राप्त गर्नेछ । त्यसैगरी तेस्रो हुने टोलीले रु पाँच लाख तथा चौथोले रु तीन लाख पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा फेयर प्ले घोषित हुने एक टोलीले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट घोषित हुने फरवार्ड, डिफेन्डर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही रु ५० हजार प्रदान गरिने आयोजक एन्फाले जनाएको छ । त्यस्तै प्रतियोगिताको प्रत्येक खेलमा प्लेयर अफ दि म्याच घोषित हुने खेलाडीलाई रु पाँच हजार दिइने छ । प्रतियोगिताको तयारीस्वरुप एन्फाले सहभागी टोलीलाई जनही रु एक लाख दिनेछ ।

प्रतिक्रिया दिनुहोस्