Logo

३५ जना विद्यार्थीमा फैलिएको रोग पत्ता लाग्याे



Spread the love

२६ फागुन, डाेटी – जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ गड्सेरास्थित चौकी गाउँमा पर्ने जनप्रिय आधारभूत माविका ३५ जना विद्यार्थीमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । बिरामी रगत सङ्कलन गरी अस्पतालमा परीक्षण गराउँदा उक्त रोग मौसमी रुघाखोकी भएको पुष्टि भएको जोरायल गाउँपालिका स्वास्थ्य संयोजक गाविन्द विष्टले बताए । उनले भने, “हामीले बिरामी परेका विद्यार्थीको रगत सङ्कलन गरी परीक्षण गराउँदा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । आत्तिनुपर्ने अवस्था केही छैन । उपचारपछि सबै निको हुनेछन् ।” यही फागुन २१ गतेदेखि सो विद्यालयको होस्टेलमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको थियो ।

विद्यालय नै बन्द गर्ने गरी सबै विद्यार्थी एकाएक बिरामी परेपछि जिल्ला अस्पातल डोटी तथा स्थानीय स्वास्थ्य संस्थाबाट उपचारका लागि चिकित्सक टोली सो क्षेत्रमा गएको थियो । टोलीले शुक्रबारदेखि बिरामी परेका विद्यार्थीको उपचार गर्न शुरु गरेको हाे । होस्टेलको सरसफाइ तथा खानामा ध्यान नदिँदा उक्त रोग फैलिएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्