Logo

थली, सलम्बुटार सडकमा विस्तार अघि बढेन



Spread the love

२६ फागुन, काठमाडाैँ – विस्तारका क्रममा रहेको चाबहिल–साँखु सडकमा थली, सलम्बुटारलगायत स्थानमा विस्तार अघि बढ्न सकिरहेको छैन । स्थानीयवासीको अवरोध भएका स्थानमा निर्माण अघि बढ्न नसकेको हो । सडकको चौडाइ बढाइएका क्षेत्रमा सडक निर्माण अघि बढे पनि विस्तार हुन नसकेका स्थानका सडकमा काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सो सडकमा अहिले ठाउँठाउँमा झण्डै दुई किमी सडकमा निर्माण शुरु हुन नसकेको आयोजनामा कार्यरत इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । उनका अनुसार सङ्गठित रुपमा जग्गा र घर हटाउन नमानेका स्थानमा अहिले कालोपत्र गर्न बाँकी छ । त्यहाँ सडकका अरु पूर्वाधार निर्माणसमेत हुन सकिरहेका छैनन् । उनले भने, “अरु स्थानमा निर्माण सकिँदासम्म यहाँ के गर्ने भनी निर्णय हुनसक्छ ।”

उपत्यकाका अरु १० स्थानमा जस्तै विसं २०७२ मा सो सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म सडकसँगै घरजग्गा भएका स्थानीयवासीले सडक निर्माणका लागि जग्गा दिन नमानेपछि सडक अवरुद्ध भएको थियो । सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले उपलब्ध चौडाइमै काम गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार सडक निर्माण गर्दा झण्डै आधामा मापदण्डानुसार (२२ मिटर चौडाइ) कायम हुने र आधामा हुन नसक्ने देखिएको छ । कतिपय स्थानमा मापदण्डभन्दा कम चौडाइमा पनि कालोपत्र भइरहेको छ । चौडाइ सात÷आठ मिटर मात्रै उपलब्ध हुने स्थानमा भने निर्माण अघि बढ्न सकिरहेको छैन । यहाँका जनप्रतिनिधिले स्थानीयवासीसँग पटक–पटक समन्वय गर्दै सडकको चौडाइ बढाउन पहल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्