Logo

फागू पूर्णिमा अर्थात् फागू पर्व



Spread the love


काठमाडौं । प्रत्येक वर्ष फागू पूर्णिमाको दिन फागू पर्व अथवा होली मनाइने गरिन्छ । नेपालमा तराई र पहाडमा छुट्टाछुट्टै दिन मनाइन्छ । पहाडमा मनाएकाे एकदिन पछि तराईमा मनाउने गरिन्छ ।

यस पर्वलाई रङको पर्वको रुपमा लिइन्छ । इष्टमित्र, नातेदार र साथीहरुबीच सद्भावमा एकले अर्कालाई रङ दल्ने गरिन्छ । यसै गरी लोला, पिच्कारी हान्ने, भाङ खाने पनि गरिन्छ । फागू पूर्णिमा खासगरी भारत र नेपालमा बढी प्रख्यात छ । रङले जीवन उज्यालो भएको बुझाउँछ । हाम्रो जीवनमा पनि उज्यालो छाओस् भन्ने हेतुले एक आपसमा रङ दल्ने गरेको पाइन्छ । फागूमा गीत गाउने, नाच्ने गरिन्छ । अग्लो स्थानमा राखिएको हाँडी फोर्ने प्रतियोगिता पनि फागू पूर्णिमामा नै राखिन्छ ।

पौराणिक कथा अनुसार हिरण्यकश्यप राक्षसका छोरा प्रह्लाद भगवान् विष्णुका भक्त थिए । तर यो कुरा प्रह्लादका बुवालाई मन पर्दैन थियो । हिरण्यकश्यपकी बहिनी होलिकालाई आगोबाट नपोल्ने वरदान थियो । दाइको आग्रहमा होलिकाले प्रह्लादलाई लिएर आगोमा गइन् तर घटना ठ्याक्कै उल्टो भयो । भगवान विष्णुको आशीर्वाद प्रह्लादमा थियो जसकारणले उनी भष्म भएनन् तर वरदान पाएकी होलिका जलेर भष्म भइन् ।

दुष्ट होलिका जलेर भष्म भइन् भने प्रह्लाद भने जीवित नै थिए । यस घटनालाई अँध्यारोमाथि उज्यालोको जित मानी फागू पर्व मानिन्छ ।

फागू पूर्णिमाको दिन आगोको वरिपरि बस्ने पनि गर्दछन् । तर यो नेपालको सबै ठाउँमा चलन रहेको छैन । कुनै कुनै जिल्लामा फागू पूर्णिमाको दिन फागू गीत पनि गाउने गरिन्छ ।


फागूले सबैमा समानताको भाव पनि देखाउँछ । फरक–फरक जात, धर्मका मानिसहरुले एक–आपसमा रङ दलेर समानताको भाव व्यक्त गर्दछन् ।

फागूमा गाँजा हाली पकाएको भाङ पनि खाने चलन रहेको छ । फागूले जाडो सकिएको पनि संकेत गर्दछ ।

तर पछिल्लो समयमा नेपालमा फागू पर्व विकृतिको रुपमा देखिएको छ । अनावश्यक लोला हान्ने, रङसँग खेल्न नखोज्ने मानिसहरुलाई जबर्जस्ती लगाउने, मदिरापान गरी हल्ला गर्ने विकृतिहरु बढिरहेको छ । यस्ता खालका विकृतिहरुलाई समयमा नै रोक्नुपर्छ । पर्वको नाममा रमाइलोको लागि मदिरापान गरिन्छ । जसले गर्दा विभिन्न किसिमका दुर्घटना घट्न सक्ने सम्भावना प्रचुर मात्रामा हुन्छ । अत्याधिक रङको कारणले छालामा एलर्जी आइ अनेकन समस्याहरु देखा पर्दछन् । त्यसैले यस पर्वलाई सामान्य रुपले मनाएको राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्