Logo

फुटबलमा कोरोना



Spread the love


एजेन्सी । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट फुटबल पनि अछुतो रहन सकेन ।

कोरोनाको आतंकले गर्दा सिरी ए खेल अप्रिल ३ सम्म स्थगित भइसकेको छ । इटालीयन लिग सिरी ए खेल स्थगित हुनुभन्दा पहिला इन्टर मिलान र युभेन्टसबीचको खेल पनि खाली रंगशालामा खेलाइएको थियो । च्याम्पियन्स लिगका खेलहरु पनि खाली रंगशालमा खेलाइयो ।

सिरी एसँगसँगै स्पेनिश लिग ला लिगाले पनि दुई चरणको खेलहरु स्थगित गरेको छ । बिहीवार लिगको दुई चरणको खेलहरु स्थगित गरेको बताएको थियो । यसभन्दा अघि बन्द रंगशालामा खेलाउने निर्णय गरेको थियो ।

स्पेनिश फुटबल क्लब रियल मड्रिडका खेलाडीहरु पनि क्वारेन्टाइनमा बसिरहेका छन् । रियलकोबास्केटबल खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि खेलाडीहरु क्वारेन्टाइनमा बसेका हुन् ।

यूरोपीयन फुटबलको सर्वोच्च निकाय यूईएफएले सन् २०२० को जुनदेखि सुरु हुन लागेको यूरोकप फुटबल स्थगित गरी एक वर्ष पछाडि सार्ने तयारी गरिरहेको छ ।

खेलाडीमा कोरोनाको संक्रमण सर्वप्रथम युभेन्टसका डिफेन्डर रुगानीलाई देखिएको थियो । प्रिमियर लिग क्लब लेस्टर सिटीका ३ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरुलाई छुट्टै राखेर उपचार गर्न थालिएको छ ।

यसै गरी चेल्सीले विज्ञप्ति निकाल्दै चेल्सीका फर्वाड हड्सनलाई पनि कोरोनाको संक्रमण भएको बताएको छ ।

युभेन्टसका फर्वाड पल डिबालालाई पनि कोरोना भाइरसबाट संक्रमित भएको इटालीयन मिडियाहरुले बताएका छन् । युभेन्टसका अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आमालाई भेट्न पोर्चुगलमा गएका थिए । रुगानीमा संक्रमण देखिएपछि उनी पनि आइसोलेसनमा बसेका छन् तर उनमा संक्रमण भने देखिएको छैन ।

कोरोनाको संक्रमण खेलाडीमा मात्र सीमित नभइ प्रशिक्षकमा पनि देखिएको छ । प्रिमियर लिग क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेरामा पनि भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्