Logo

देशोद्धार पूजा एवं जात्रा चलाउने गुठीलाई रु ३२ लाख ७१ हजार



Spread the love

४ चैत, काठमाडाैँ – प्राचीनकालदेखि पशुपति क्षेत्रमा सञ्चालन हुँदै आएको देशोद्धार पूजा एवं जात्रा चलाउने गुठीलाई रु ३२ लाख ७१ हजार दिइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

जात्रा चलाउन गत वर्षभन्दा १५ प्रतिशत बढी रकम दिइएको कोषका कार्यकारी निर्देशक डा प्रदीप ढकालले राससलाई जानकारी दिए । सो जात्रा चलाउने गुठीका गुठियारले जग्गा अधिग्रहण गरेबापत् मुआब्जा नदिँदा यस वर्षको जात्रा चलाउन नसकिने बताएका थिए ।

कोष र गुठियारबीचको आजको बैठकमा भएको सहमति अनुसार रकम दिइएको उनले बताए । पशुपति क्षेत्र विकास कोषले विसं २०७२ मा करिब दुई सय वर्षअघि स्थापना भएको निजी गुठीको जग्गा अधिग्रहण गर्न मोहीलाई मुआब्जा दिए पनि देशोद्धार पूजा सञ्चालन गर्ने गुठीलाई १३ रोपनी जग्गाको मुआब्जा नदिइएको गुठियारको गुनासो थियो ।

चैत्र कृष्ण अष्टमी अर्थात् चैत ४ गते मङ्गलबारदेखि जात्रा शुरु हुनेछ । देशोद्वार पूजा गरी चैत्र कृष्ण पक्षमा जात्रा चलाउन करिब २०० वर्ष अघि विश्वानन्द वैद्यले निजी गुठीका रुपमा पशुपति पारी तिलगङ्गाको १३ रोपनी जग्गा राखिदिएका थिए । यही जग्गाको आयस्ताले जात्रा चलाउने गरिएकामा पशुपति क्षेत्रको वृहत्तर विकासका लागि विसं २०७२ मा यो ठाउँ अधिग्रहण गरिएको हो । जग्गा अधिग्रहण गरी मोहीलाई मुआब्जा दिए पनि निजी गुठीलाई नदिइएको काठमाडौँ महानगरपालिका–८ का पूर्व वडाध्यक्ष रहनुभएका गुठियार सुवर्ण वैद्यले बताए ।

प्रतिक्रिया दिनुहोस्