Logo

आदेश उलङ्घन गर्ने ९ सय गाडी नियन्त्रणमा



Spread the love

१३ चैत, काठमाडाैँ – कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बुधबारउक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । नियन्त्रणमा लिएकेमध्ये दुईपाङ्ग्रे ७ सय ७० र चारपाङ्ग्रे १ सय २१ रहेका महाशाखाले जनाएको छ ।

घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले उल्लेख गरे । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए । प्रहरीले मङ्गलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्