Logo

कलेज जीवनका सम्झनाहरु-५



Spread the love

अघिल्लो बुधबारको रात यस श्रृंखलाको चौथो लेख लेख्दै गर्दा छात्रावासको टिभीहलमा बिताइएका क्षणहरुका बारेमा लेखेको थिएँ र विश्वकप फुटबलका प्रतियोगिताहरु हेर्दा धेरै रोमाञ्चक माहौल बन्ने कुरा लेखेको थिएँ । विद्यार्थीहरु अर्जेन्टिना, ब्राजिल, इंगल्याण्ड, जर्मनी आदि देशका समर्थक थिए । सन् १९९४ को विश्वकपमा अर्जेन्टिनाले खेलेका शुरुवाती खेलहरुमा अर्जेन्टिनाका शीर्ष खेलाडी डिएगो म्याराडोनाले आशातीत प्रदर्शन गर्न सकिराखेका थिएनन्, यद्यपि विद्यार्थीहरु अझै पनि अर्जेन्टिना सहभागी खेलमा उनको जादुमयी खेल हेर्न पाउने उत्कट अभिलाषा बोकेर टिभीहल अगाडि झुम्मिराखेका हुन्थे ।

खेलका प्रतियोगिताहरु अगाडि बढ्दै जाँदा उनले लागुपदार्थ प्रयोग गरेको आशंकामा छानविन गर्न एक्कासी उनलाई निलम्बित गरियो र पछि हुने खेल प्रतियोगितामा भाग लिनबाट वञ्चित गरियो । यस समाचारसँगै विश्वभरका उनका समर्थकहरु क्षुब्ध, निराश र आक्रोशित भए । यसमा पुल्चोक क्याम्पसमा भएका अर्जेन्टना र विशेष गरी म्याराडोनाका समर्थकहरु अपवाद हुने कुरै भएन ।

त्यतिबेला फिफाका अध्यक्ष ब्राजिलका जाभो हाभेलाङगे थिए । स्वाभाविक रुपमा ब्राजिल र अर्जेन्टिनालाई विश्वकप लगायत अन्य महत्वपूर्ण फुटबल प्रतियोगितामा कडा प्रतिद्वन्द्वीका रुपमा लिइन्छ । उनलाई आवश्यक प्रक्रिया पूरा नगरी अन्यायपूर्वक प्रतियोगतामा भाग लिनबाट वञ्चित गराइएको समाचारहरु अन्तरराष्ट्रिय मिडियाहरुमा पनि आइराखेका थिए । पुल्चोक क्याम्पसमा पनि उनलाई अन्यायपूर्वक प्रतियोगितामा भाग लिनबाट हटाइएको आशंकामा म्यारोडोनाका समर्थन र फिफाका विरोध गर्दै सानोतिनो विरोध कार्यक्रम गरिने भयो र मिडियालाई पनि खबर गरियो ।

अर्जेन्टिना र म्याराडोनाका समर्थक विद्यार्थीहरुले क्याम्पसको गेटमा केहीबेर नाराजुलुस गरे र फिफा अध्यक्षको पुत्ला पनि जलाए । जताततै विश्वकपको पारो चढिराखेको त्यो बेलामा यस कार्यक्रमलाई राष्ट्रिय मिडियाहरुले राम्रै स्थान दिए । गोरखापत्र, कान्तिपुर, काठमाडौं पोष्ट लगायतका मिडियाहरुले यस सम्बन्धी समाचारलाई राम्रै स्थान दिएका थिए र नेपाल टेलिभिजनले पनि यसको दृश्य समाचार दिएको थियो । हाम्रा साथी नगेन्द्र अधिकारीजी यस कार्यक्रम आयोजना गर्ने अग्रपंक्तिमा हुनुहुन्थ्यो ।त्यतिखेर प्रेसलाई बाँडिएको यस सम्बन्धी वक्तव्य भने मैले लेखेको थिएँ ।

मैले कलेज सम्झनाको अघिल्लो लेख लेखेर त्यस रात अबेरतिर सल्लेरीखबर डट कमलाई पठाएँ, इमेलबाट । बिहान सबेरै उठ्दा देखें, सामाजिक सञ्जालभरि त्यसै रात ह्रदयाघातले निधन भएका म्याराडोना प्रति व्यक्त गरिएका श्रद्धाञ्जलीहरु छयापछ्याप्ती भईसकेको रहेछ ।जुन रात लेख लेख्दा म्याराडोनाको सन् १९९४ विश्वकप खेललाई सम्झँदै थिएँ, त्यसै रात त्यतिबेलातिरै उनी बितेछन् ।यो कुरा सम्झेर भोलिपल्ट बिहानभरि मन भारी भयो । अहिले यहाँ लेखिएका यी कुराहरु त्यही अंकमा किन लेखेनेछु भन्ने लागिरह्यो । बिहान फेरि यी कुराहरु थपेर पुन: लेख पठाउन पनि मन लागेन र यस अंकका लागि सुरक्षित राखें। महान् फुटबल खेलाडी म्याराडोनाप्रति मेरो हार्दिक श्रद्धाञ्जली !

पुल्चोक क्याम्पसमा पनि फुटबल मैदान थियो । यस मैदानमा विद्यार्थीहरु विशेषगरी हरेक वर्ष आयोजना हुने खेलकुद सप्ताहमा मात्र फुटबल खेल्थे भने कहिलेकाहीं बाहिरका टीमहरु आएर पनि खेल्थे । पछि यसै मैदानमा क्रिकेट खेल पनि हुनथाल्यो । म सम्झन्छु, २०५१ सालको खेलकुद सप्ताहको उदघाटन गर्न तत्कालीन गृहमन्त्री खडग प्रसाद ओलीलाई आमन्त्रण गरिएको थियो ।

क्याम्पसमा विद्यार्थीहरुले प्राय: खेल्ने खेल भनेका बास्केटबल, टेबिलटेनिस थिए । बास्केटबल कोर्ट तल्लो छात्रावास नजिकै थियो भने नयाँ छात्रावास नजिकैको मेस हलको एकापट्टि भागमा टेबिलटेनिस र ब्याडमिन्टन खेल्ने गरिन्थ्यो । भलिबल भने प्राय: हिउँदको समयमा माथिल्लो छात्रावास अगाडिको चौर र फुटबल मैदानको चौरमा खेल्ने गरिन्थ्यो । हाम्रा ब्याच (ई/एफ सेक्सन)का साथी शिव प्रसाद पन्त (पर्वत) निकै राम्रा भलिबल खेलाडी थिए । उनको तेस्रो वर्षको पढाई सकिएसँगै असामयिक र दु:खद निधन भएको थियो । शिवजी चाकुपाटमा नारायण खवासजी बसेकै घरमा डेरा गरी बस्नुहुन्थ्यो । राति अचानक पेट दुख्न थालेर पाटन अस्पताल लगिए पछि राति चार बजेतिर उपचारकै क्रममा अस्पतालमा उनको निधन भएको थियो । उनको निधनको तेह्रौं दिनमा हामीले एफ ब्लकको हलमा श्रद्धाञ्जली सभा आयोजना गर्‍यौं र हामी साथीहरुले कान्तिपुरमा समवेदना छपाएका थियौं ।

हामी तेस्रो वर्षमा अध्ययरत हुँदा साउन महिनातिर पृथ्वीको अन्त्य हुने हल्ला चलेको थियो । यो हल्लाका साथमा हामी केही साथीहरुले विदाको दिन कलेजमा खसी काटेर भोज खाएका थियौं । यसरी खसी काटेर भोजको आयोजना गर्नमा अग्रसर हुनेमा सुबोध कुमार रवि लगायतका साथीहरु थिए ।

छात्रावास नजिकैको बास्केटबल कोर्टमा कहिलेकाहीं क्याम्पस बाहिरका युवाहरु पनि बास्केटबल खेल्न आउँथे । बास्केटबल खेल्ने क्रममा एकचोटि बाहिर कुपण्डोलबाट आएका युवा र क्याम्पसका विद्यार्थीका बिचमा विवाद, झैझगडा भएछ । छात्रावासमा एकाएक बाहिरका मानिसले पुल्चोकका विद्यार्थीलाई कुटेरे भन्ने हल्ला फिजिंयो र छात्रावासका सारा विद्यार्थीहरु उर्लिएर बाहिर निस्किए, नाराजुलुस गर्दै कुपण्डोलको सडक हुँदै थापाथलीको बागमती पुल नजिकसम्म पुगेर फर्किए । जुलुसले आक्रोशमा आएर केही अराजक काम गर्लान् कि भन्ने आशंकाले हुनसक्छ, प्रहरीका साथमा, जुलुसको अग्रपंक्तिमा तत्कालीन डिन राजेन्द्रध्वज जोशी सर पनि सँगै हिंड्नुभएको थियो ।

फागु पूर्णिमा र सरस्वती पुजाका बेलामा पनि बडो रमाइलो हुन्थ्यो । विद्यार्थीहरु छात्रावासमा होली खेलिसकेपछि समूह बनाएर कुपण्डोल, पाटनतिर होली खेल्न जान्थे । यसरी होली खेल्न जानेको कहिलेकाहीं बाहिरका समूहसँग झगडा पनि हुन्थ्यो । सरस्वती पुजाका लागि भने एक पुजा आयोजना समिति गठन गरिन्थ्यो । तराईका विद्यार्थी साथीहरु, विशेषगरी क्याम्पसको नेपाल तराई विद्यार्थी समाजको यसमा अग्रसरता हुन्थ्यो । सरस्वती पुजाका दिन तोरण, ध्वजापताकाले क्याम्पस प्रांगण झकिझकाउ बनाइन्थ्यो । स्पीकरमा बजेका सरस्वती माताका भजनकीर्तनले क्याम्पस वातावरण गुञ्जायमान हुन्थ्यो । त्यतिबेला क्याम्पस प्रागंणमा सरस्वती माताको मन्दिर बनिसकेको थिएन, यद्यपि अहिले मन्दिर बनाइएकै स्थानमा मूर्ति स्थापना गरी पुजाआजाको काम गरिन्थ्यो ।पुजामा बाँडिने बुनिँया, बयर लगायत प्रसादको स्वाद मैले त्यतिखेर नै पहिलोचोटि चाखेको हुँ । गीत, संगीतमा रुचि भएका भएका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्थे । यस बाहेक क्याम्पसमा नयाँ विद्यार्थीको स्वागतका लागि आयोजना हुने स्वागत कार्यक्रमहरु पनि यस्ता प्रतिभा प्रस्तुत गर्ने डबलीहरु थिए । हाम्रा ब्याचका साथीहरु अरविन्द श्रेष्ठ र पुनम अमात्यले पनि स्वागत कार्यक्रममा गीत गाएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

स्कूल पढ्दा म कक्षामा अन्य साथीको तुलनामा निकै कम उमेरको हुनाले अनिवार्य बाहेकका अन्य खेलकुद प्रतियोगितामा भाग लिने गर्दिनथे । यस क्रमले क्याम्पस जीवनमा पनि निरन्तरता पायो । कलेजका अन्तिम दिनतिर कलेजको चौर र सडकमा साइकल चलाउन भने सिंके । स्कूल पढ्दा मैले भाग लिने भनेका प्रतियोगिताहरु भनेका कविता, निबन्ध लेखन, वक्तृत्वकला, वादविवाद, हाजिरी जवाफ प्रतियोगिताहरु हुन्थे । क्याम्पसमा पढ्दा केही कविता लेखेको थिएँ । एक कविता स्ववियुद्वारा आयोजित कविता प्रतियोगितामा पठाएको थिएँ, वाचनका बेला छुटेछु । त्यसमा शायद तेस्रो भएको थिएँ जस्तो लाग्छ । क्याम्पस जीवनमा लेखिएका ती कविताहरु सुरक्षित गरेर राख्न नसकेकोमा भने अहिले थकथकी लाग्छ । एक वर्षजति विद्यार्थी संगठनद्वारा संचालित भित्तेपत्रिकाको सम्पादनमण्डलमा रहें । डिप्लोमा पढाई सकिने बेलातिर सिनियर ब्याचका दिपक श्रेष्ठ दाइले हवाई साहित्यीक पत्रिका सम्पादन गर्न थाल्नुभएको थियो र शुरुमा मलाई पनि सम्पादनमण्डलमा राख्नुभएको थियो, तर म त्यसमा समय दिएर सक्रिय हुन सकिँन ।

मेरो अर्को प्रिय प्रतियोगिता भनेको हाजिरी जवाफ प्रतियोगिता थियो । २०५० सालमा स्ववियुले क्याम्पसमा ‘क्विज माष्टर’ का रुपमा हाजिरी जवाफ प्रतियोगिता संचालन गर्नका लागि मलाई नै जिम्मेवारी दियो । त्यतिबेला स्ववियु सभापति नारायण काफ्ले दाइ हुनुहुन्थ्यो भने स्ववियुका तर्फबाट यसको व्यवस्थापनको जिम्मेवारी स्ववियु सदस्य जीवन कुमार श्रेष्ठले लिनुभएको थियो । यस आयोजक टीममा हाम्रा ब्याचका साथी चेत कुमार खत्रीजी पनि हुनुहुन्थ्यो । हामीले प्रतियोगितामा ‘जज’ का रुपमा त्यतिबेला बिई अध्ययनरत दाइहरु सुनिलबाबु श्रेष्ठ (हाल नाष्ट उपकुलपति), राजेशराज श्रेष्ठ र कौशलकुमार झालाई राखेका थियौं ।प्रतियोगी टीमले मिलाउन नसकेको प्रश्न दर्शकमा पुग्थ्यो र दर्शकमध्येबाट सही उत्तर मिलाउनेलाई हामी दुई वटा ‘व्हाइट र्‍याबिट’ चकलेटले पुरस्कृत गर्थ्यौं । त्यतिबेला ‘व्हाइट र्‍याबिट’ चकलेट निकै मन पराइन्थ्यो । यो प्रतियोगिता हामीले उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गर्‍यौं ।

हामीले यस प्रतियोगिता संचालन गरेको लगभग आठ-दश महिनापछि गोदावरी एलुम्नाई एशोसिएशन, ठमेलले अन्तर क्याम्पस हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भयो । प्रत्येक क्याम्पसबाट दुई वटा टीम पठाउन भनिएको थियो । हाम्रो क्याम्पसबाट मेरो नेतृत्वमा मेरै ब्याचका साथी राजेन्द्रदेव अधिकारी र अजय कुमार श्रेष्ठको एक टीम बन्यो ।उनीहरु दुवै जनाले हामिले कलेजमा संचालन गरेको हाजिर जवाफ प्रतियोगितामा अब्बल प्रदर्शन गरेका थिए । अर्को टीम ईश्वर ढुंगाना दाइको नेतृत्वमा महेश थपलिया र रोशन दाहाल सहितको बनेर त्यस प्रतियोगितामा भाग लिने भयो । उपत्यकाका पच्चीस-तीस वटा, त्यतिखेर प्राय: नाम चलेका सबै कलेजहरुले भाग त्यस प्रतियोगितामा लिएका थिए । त्यस प्रतियोगिताका विजयी टीमहरुलाई सार्क क्वीज कन्टेष्टमा भाग लिन पठाउने भनिएको थियो । यस प्रतियोगिताका ‘क्वीजमाष्टर’ प्रकाश थापा थिए भने प्रतियोगिता गोदावरी एलुम्नाई एशोसिएशनको ठमेल हलमा भएको थियो ।

वास्तवमा, मैले यी सबै क्वीज कन्टेष्टहरुका तयारीकामा प्रशस्त समय दिएको थिएँ । त्यतिबेला सरस्वती बुक सेन्टरमा पकेट क्वीज भन्ने पाइन्थ्यो । एक पत्तामा दुईपट्टि गरेर छ प्रश्न गरी कुल तीन सय प्रश्न भएका तासका जस्तै पकेटहरु हुन्थे । मैले यस्ता पकेटका छ हजार भन्दा प्रश्नहरु कण्ठस्थ पारेको थिएँ । पत्रपत्रिका र अन्य स्रोतबाट प्राप्त सूचनाहरुका बारेमा अद्यावधिक हुने कुरो त आफ्नो ठाउँमा छँदैछ । सामान्य ज्ञान डाइजेष्ट त स्कूल पढ्दा नै कण्ठस्थ पारिएको थियो भने कृष्णहरि बाँसकोटा तथा ज्ञानेश्वर भट्टराई द्वारा लिखित सामान्य ज्ञानका किताबहरु पनि लगभग कण्ठ नै थिए । यी प्रतियोगिताहरु भाग लिने क्रममा मेरो छैंठौं सेमेष्टरका थुप्रै कक्षाहरु छुट्न पुगेका थिए । संयोगले प्रतियोगिताको फाइनलमा पुग्ने दुई टीमहरुमा हाम्रै कलेजका दुई टीम भयौं । फाइनल प्रतियोगितामा हाम्रो हौसला बढाउन क्याम्पसबाट दुई बस विद्यार्थीहरु गएका थिए । फाइनल प्रतियोगितामा मैले नेतृत्व गरेको टीम प्रथम भयो भने ईश्वर ढुंगाना दाइले नेतृत्व गर्नुभएको टीम दोस्रो भयो । यसरी हाम्रै क्याम्पसका दुई टीम प्रथम, द्वितिय भएपछि त क्याम्पसबाट बसभरि जाने हाम्रा साथीहरुको भुईंमा खुट्टा हुने नै भएन । धेरै रमाइलो भयो । बाटाभरि बसमा नाराबाजी गर्दै पुल्चोक क्याम्पस फर्कियौं ।

यस प्रतियोगितामा विजयी टीमलाई स्वत: छनौट गरेर सार्क क्वीज कन्टेष्टमा पठाउने भनिएको थियो, तर पछि टीम छनौट गर्न यस प्रतियोगिता बाहिरका मानिसहरुलाई समेत सहभागी गराएर छनौटका लागि छुट्टै लिखित परीक्षा लिइयो । त्यसमा ईश्वर ढुंगाना दाई छनौट हुनुभएपनि म भने छनौट हुन सकिंन । त्यसको केही समयपछि नेपाल टेलिभिजनले पनि सार्क टिभी क्वीज कन्टेष्टका लागि छनौट प्रतियोगिता आयोजना गर्‍यो । छनौट प्रतियोगिता संचालन गर्नेमा प्रकाश थापा र भुषण दाहाल थिए । दु:खको कुरो, म त्यस प्रतियोगितामा समेत छनौट हुन सकिंन । मेरो खेलकुदमा कम रुचि भएकोले खेलाडीहरु चिन्नुपर्ने प्रश्नहरु मैले त्यति मिलाउन सकिंन ।

तत्कालीन नेकपा एमालेका नेता मदन भण्डारी र जीवराज आश्रितको निधन भएपश्चात् अनेरास्ववियुले उनको स्मृतिमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न थाल्यो । पहिलो चोटि आयोजना भएको प्रतियोगितामा पुल्चोकको यस टीममा मलाई पनि समावेश गरिएको थियो । टीममा म बाहेक विमल गुरुङ दाई टोली प्रमुखको रुपमा र हाम्रै ब्याचका नृपराज जोशीजी पनि हुनुहुन्थ्यो । त्यस प्रतियोगिताको फाइनल २०५१ साल जेठ तीन गते भएको थियो । यस प्रतियोगिता पाटन संयुक्त क्याम्पसमा आयोजना गरिएको थियो भने क्वीज माष्टर थिए – द्विजराज भट्ट (हाल सुक्ष्मजीवशास्त्र प्राध्यापक) । यस अन्तरक्याम्पस क्वीज कन्टेष्टमा हामर् पुल्चोक टीम प्रथम भयो र टीमलाई विजयी बनाउन खेलेको मेरो भूमिकालाई लिएर कलेजका धेरै साथीहरु र रविन्द्र अधिकारी (हाल दिवंगत) लगायतका अनेरास्ववियुका तत्कालीन धेरै नेताहरुले मेरो प्रशंसा गरे । हामीलाई पुरस्कार प्रदान गर्न तत्कालीन नेकपा एमालेका नेता मनमोहन अधिकारी आउनुभएको थियो ।

दोस्रो वर्ष पुल्चोक क्याम्पसमा आयोजित मदन-आश्रित क्वीज कन्टेष्टमा पनि हाम्रो पुल्चोककै टीम प्रथम भयो । यस प्रतियोगितामा एक प्रश्न सन् १९९५ को मिस इण्डिया को हुन् भनेर सोधिएको थियो । हामीले मनप्रित ब्रर भन्यौं । मिस इण्डियाको घोषणा एकदुईदिन अघि मात्र भएको थियो । आजकल हुने अन्तरराष्ट्रिय मिस प्रतियोगिता जस्तो तुरुन्तातुरुन्तै यी समाचारहरु फैलिन्थेनन् । केही सीमित मिडियाले मात्र मिस प्रतियोगिताका समाचारहरु दिन्थे । मैले एक भारतीय पत्रिका मार्फत् उनको नाम थाहा पाएको थिएँ, तर त्यस दिनको राइजिङ नेपाल पत्रिकामा उनको नाम ‘स्पेलिङ’ गल्ती भएर महाप्रित ब्रर छापिएको रहेछ र त्यसलाई नै आधार मानी हाम्रो जवाफलाई गल्ती भनिएको रहेछ । हाम्रो उत्तर सही भएकोमा म शतप्रतिशत विश्वस्त थिएँ, सही उत्तर भन्दाभन्दै पनि गलत भनिएकोमा प्रतियोगितास्थलमा नै मेरा आँखाबाट त बर्रर आँसु झरे ।पछि यस बारेमा छानविन गर्दा हाम्रो उत्तरलाई नै सही ठहर्‍याइयो र हामीलाई त्यस प्रश्नको उत्तर बापत नंबर दिइयो ।

क्वीज कन्टेष्टहरुमा भाग लिने क्रम जारी रह्यो । शेषकान्त काफ्ले (हाल दिवंगत) सम्बद्ध ‘फिड नेपाल’ भन्ने संस्थाद्वारा आयोजित वन र वातावरणसँग सम्बन्धित क्वीज कन्टेष्टमा पनि हामीले भाग लियौं र विजयी भयौं । तत्कालीन राजाको जन्मोत्सवका अवसरमा २०५१ सालमा जावलाखेल युथ क्लबले अन्तरक्लब क्वीज कन्टेष्ट प्रतियोगिता आयोजना गरेको थियो । भक्तपुर क्याम्पसबाट क्वीज कन्टेष्टमा भाग लिईरहने मित्र (क्वीजमा भाग लिने क्रममा नै उनीसित चिनजान भएको थियो) सुरेन्द्रभक्त प्रधानाङगले मलाई भक्तपुरकै एक क्लबबाट क्वीजमा भाग लिन अनुरोध गर्नुभयो । म र पछिल्लो ब्याचका भाइ अजय कुमार श्रेष्ठ, त्यस क्लबका तर्फ (क्लबको नाम बिर्सें) बाट क्वीजमा भाग लियौं । हाम्रो टीम त्यस क्वीजमा प्रथम भयो । यस कार्यक्रममा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो – तत्कालीन उपप्रधानमन्त्री माधव कुमार नेपाल ।

यी सबै कारणहरुले गर्दा पुल्चोक क्याम्पसमा तत्कालीन समयमा अध्ययरत कतिपय ओभरसियर/ईञ्जिनियरहरुले क्वीजका कारण पनि मलाई चिन्ने गर्दछन् ।

कलेजको नियमित पठनपाठनका अतिरिक्त पुस्तक, पत्रपत्रिकाहरु पढ्नुमा मेरो विशेष अभिरुचि थियो । पत्रपत्रिका अध्ययनका बारेमा त अघिल्लो लेखमा लेखिसकेको छु । त्यतिबेला भेटाए सम्मका नेपाली साहित्यका किताबहरु पढिए । नेपाली साहित्यका किताबहरु स्कूल जीवनमा र एसएलसी दिएपछि पनि प्रशस्त पढिएको थियो । छात्रावासमा कतिपय साथीको कोठामा भेटिएका र आफैंले पनि किनिएका किताबहरु दाडिमको रुखनिर (लक्ष्मी प्रसाद देवकोटा), सेतो बाघ (डायमण्ड शमसेर), शिरिषको फूल, परिभाषित आँखाहरु (पारिजात), नरेन्द्र दाइ, तीन घुम्ती, श्वेतभैरवी (विपि कोइराला), आमा (म्याक्सिम गोर्की) आदि रातरातभर पढेर सकाइएका किताबहरु हुन् । केही साथीकहाँ प्रगतिशील साहित्यका किताबहरु हुन्थे । एडगर स्नोले लेखेको माओको जीवनी किताब मैले हाम्रो छिमेकी कोठा (कोठा नं ११९/शंकर नेपाली, टोप बहादुर बाँनिया, रामकृष्ण रेग्मी) मा भेटाएर पढेको थिएँ ।

हुनत इञ्जिनियरिङ विषयमा थुप्रै किताबहरु अध्ययन गर्नुपर्छ, तर मैले ती पाठ्यपुस्तकको तुलनामा अन्य किताबहरु अझ धेरै गुना बढी पढें जस्तो लाग्छ ।मेरा रुममेट टोपेन्द्र खनालजी पनि पुस्तक पढ्न रुचाउनुहुन्थ्यो । वहाँ प्राय: राजनीति, दर्शन र विज्ञानसँग सम्बन्धित किताबहरु ल्याएर पढ्नुहुन्थ्यो । ब्रिटिश काउन्सिल पुस्तालयको सदस्य पन बन्नुभएको थियो । ती किताबहरु रुचि र समयले साथ दिएसम्म म पनि पढ्थें । पछिल्ला दिनहरुमा मलाई पूर्व भारतीय राष्ट्रपति एस. राधाकृष्णन र अब्दुल कलामका किताबहरु पनि धेरै मन पर्थे । टोपेन्द्रजीमा त्यो अध्ययनशीलता आजपर्यन्त देखिन्छ र वहाँ पछिल्ला दिनमा दर्शन, शिक्षा र योगा सम्बन्धी कुरामा बढी आकर्षित भएको देखिनुहुन्छ । कहिलेकाहीं वहाँसँग फोनमा वा भेटेर यी विषयमा हामी बिच कुराकानी, बहस हुँदा समय कटेको पत्तै हुँदैन ।बडो रमाइलो लाग्छ, वहाँसँग यी विषयमा कुरा गर्न ।

हामी क्याम्पस पढ्दाकै समयमा अहिलेकी प्रसिद्ध लेखिका नीलम कार्की निहारिकाको सन् १९९४ मा ऊनीद्वारा लेखिएको पहिलो उपन्यास ‘मौन जीवन” उपन्यासको विमोचन भएको थियो । उक्त उपन्यासको विमोचन नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्ण प्रसाद भट्टराईले गर्नुभएको थियो । त्यस विमोचन कार्यक्रममा मैले स्वागत भाषण गरेको थिएँ र लेखिकालाई एक प्रख्यात साहित्यकार बन्न शुभकामना दिएको थिएँ । तिनै लेखिकाले दुई वर्ष अगाडि ‘योगमाया’ उपन्यास मार्फत मदन पुरस्कार पाउन सफल भईन् । उनले मदन पुरस्कार पाउँदा ज्यादै खुशी लाग्यो । उनको ‘चीरहरण’ उपन्यास पनि उत्तिकै चर्चित छ ।

समय फेरिंदै जान्छ । हामी फेरिंदै जान्छौं । परिवेश र वातावरण पनि फेरिंदै जान्छन् । आजभोलि कहिलेकाहीं पुल्चोक क्याम्पसको गेटबाट भित्र पस्दा बाटो छेउ निकै अग्लिएका असारे फूल र धुपीका बोटहरु देख्छु । हामी पढ्दा ताका, सर्वे गर्दा तिनलाई सजिलै नुङग्याउन सक्थ्यौं वा नाघ्न सक्थ्यौं । क्याम्पसबाट तल्लो छात्रावास जाने सडक छेउमा रोपिएका मसलाका रुखहरु तथा क्याम्पस परिसरमा भएका काईंयो र गुलमोहर फूलका बोटहरु पनि अहिले निकै ठूल्ठूला भईसकेका छन् । त्यतिबेला १ रुपैंया पच्चीस पैसा तिरेर चढ्न पाइने पाटनढोकाबाट चल्ने ‘टाटा’ का ठूल्ठूला पुराना बसहरु पनि हराइसकेका छन् ।

घर जानुपर्दा पुल्चोकबाट साझा बस चढेर वा सुन्धाराबाट कुनै बस पक्रेर घर गइन्थ्यो भने कहिलेकाहीं कलंकी पुगेर त्यहाँबाट बस चढेर घर गइन्थ्यो । धादिङ जानका लागि मलेखुसम्म पुग्न जुन बसमा जाँदा पनि हुन्थ्यो । घर आउँदा जाँदा प्राय: एक्लै हुन्थें । एकचोटि मलंगवाको बस चढेर घरतिर (मलेखुसम्म) जाँदैगर्दा सँगैको सिटमा भएका एक अधवैंशे मानिसले “भाइ, धादिङतिर गाँजा धेरै पाइन्छ रे भन्छन्, भाइको घरतिर पनि गाँजा पाइन्छ?” भनेर कानमा खुसुक्क सोधे । मेरो त डरले कानै रातो भएर आयो र केही छिनमा अर्कै सिटतिर बस्न गएँ । मलेखु पुगेपछि ती व्यक्तिको अनुहारै नहेरी हत्त न पत्त ओर्लिएँ ।

पुल्चोक क्याम्पस पढ्दा ताकासम्म मलेखुमा त्रिशुली नदीमाथि पुल बनिसकेको थिएन । (मलेखु खोला कटेपछि) काठमाडौंबाट धादिङ जाने यात्रुहरु पुरानो मलेखु बजारबाट अलिक तल ओर्लिएपछि झोलुंगे पुल तरेर पारिपट्टि जानुपर्थ्यो । बसलाई भने फेरीमा चढाएर त्रिशुली तारिन्थ्यो । पारि पुगेपछि बस चढेर धादिङबेसी जानुपर्थ्यो । मलेखु-धादिङबेसी सडक कच्ची थियो र अठार-उन्नाइस किलोमिटरको यो सडकमा बसबाट यात्रा गर्दा तीन-चार घण्टा समय लाग्थ्यो । एक दुईचोटि त मलेखुबाट धादिङबेसीसम्म हिंडेर गएको छु र चार घण्टा जतिमा हिंडेर पार गरेको छु ।

धादिङबेसीदेखि सल्यानटारसम्म पुग्न भने पुरै बाटो हिंड्नुपर्थ्यो । सल्यानटारसम्म पुगेपछि हाम्रो घर सिकटारसम्म पुग्न अझ डेढ घण्टा जति टारको तेर्सो बाटो हिंड्नुपर्थ्यो । काठमाडौं, कलंकीबाट नौ बजेतिर बस चढेर धादिङबेसीं पुगेपछि त्यहाँबाट पाल्पा भञ्ज्याङसम्मको उकालो, ज्यामिरे, ज्वालामुखी हुँदै सालवाससम्म पुग्दानपुग्दै साँझ पर्न लाग्थ्यो । चैनपुरको सालवास भञ्ज्याङबाट वनवनै भएर जाने ओराली बाटो झर्ने तरखर गर्दा घाम पनि अस्ताइसकेको हुन्थ्यो । वनको बाटो हुँदै अधेंरी खोलातिर ओराली लाग्दा सुनसान र एकलास वनको बाटोमा राति धेरैजसो एक्लै हिंडेको छु । यसरी वनको बाटोमा राति एक्लै हिंड्नुपर्दा डरले मुटु ढक्क फुलेर आउँथ्यो । बाटोमा कुनै ठाउँमा चोर लाग्छ पनि भन्थे, तर मलाई जंगली जनावरको भने बढी डर लाग्थ्यो । यसरी जंगलको बाटो एक्लै हिंड्नुपर्दा आफ्नो क्षमताले भ्याएसम्म कुदिन्थ्यो पनि । तल जंगलको पुछारमा रहेको आँखु खोला किनार नजिकैको ठुलीबेसी फाँटमा पुगेपछि मात्रै सास आउँथ्यो । आँखु खोलामा केही वर्ष अगाडि मात्र बनाइएको झोलुंगे पुल तरेर एकछिन खेतको बाटो हुँदै उकालो लागेर पान्धारे (पाँच वटा ढुंगे धारा भएको स्थान) मा पुगेर पेटभरि पानी पिएपछि केहीछिन थकाई मारिन्थ्यो र अब चाहिं घर पुगिने भइयो भन्ने लाग्थ्यो । त्यहाँबाट दश मिनेट जति उकालो लागेपछि सम्म सल्यानटार आइपुग्थ्यो र टारको समथर बाटो डेढ घन्टा जति हिंडेपछि घर पुगिन्थ्यो । यसरी घर जाने क्रममा घर पुग्दा धेरैचोटि रातिको दश-एघार बज्ने गरेको थियो ।

पुल्चोक पढ्दै गर्दा धादिङबेसीबाट सल्यानटारसम्म पुग्ने कच्ची मोटरबाटो पनि बन्दैथियो । पछिल्ला वर्षहरुमा भने सालवासको त्यो एकान्त, सुनसान र निर्जन बाटोको साटो ज्यामिरेबाट उक्लेर गोलाभञ्ज्याङ निस्केर ज्यामरुङको भदौरे, हनुमान डाँडा हुँदै तल ठूलीबेसी फाँट ओर्लेर आँखु खोलाको झोलुंगे पुल तर्दै घर गइन्थ्यो । यो बाटो पछि सडक बन्दैगएसँगै फेरि टारीबेसीतिर सर्‍यो । धादिङबेसीबाट आँखु खोलासम्म पुग्दा कहिलेकाहीं भर्खरै खनिएको बाटोमा जेनतेन चल्ने ट्रयाक्टरहरु भेटिन्थे । हामी त्यही ट्रयाक्टरहरुको पछाडि बसेर यात्रा गर्थ्यौं, हिंड्नुको दु:खले मात्र । यसरी यात्रा गर्दा हल्लिएर जिउ दुख्ने त आफ्नो ठाउँमा छँदैथियो, हिउँदमा ट्रयाक्टर मात्र चल्ने यस्ता सडकबाट यात्रा गर्दा धुलोले पुरिएर नचिनिने होइन्थ्यो । यसरी यात्रा गर्दा हामी काठमाडौंतिर आउँदा धादिङबेसी आइपुगेपछि थोपल खोलामा नुहाएर मात्र आउँथ्यौं भने घर जाँदा आँखु खोलामा नुहाएर मात्र जान्थ्यौं, नत्र त धुलाम्मे भएको मान्छेलाई अरुले नचिन्ला भन्ने पीर !

अँ त, माथिका कुराहरु गर्दैगर्दा मैले त पुल्चोकको दोस्रो र तेस्रो वर्षका पढाईका कुराहरु गर्न भुसुक्कै बिर्सेछु, अनि आइ. एस्सी. दोस्रो वर्षको पढाईको कुरा पनि । पुल्चोकको दोस्रो सेमेष्टर र आइ. एस्सी. पहिलो वर्षको परीक्षा एकैसाथ दिंदा दोस्रो सेमेष्टरको नतीजा पहिलो सेमेष्टरको नतीजा भन्दा केही प्रतिशत घट्न पुग्यो । आइ. एस्सी. पहिलो वर्षमा ६९ प्रतिशत नंबर आयो । पुल्चोकको चौथो सेमेष्टरमा चाहिं तेस्रो सेमेष्टरको भन्दा राम्रो प्रतिशत नंबर आयो, फेरि । चौथौ सेमेष्टरमा पदमसुन्दर जोशी सरले पढाउनुभएको बेसिक हाइड्रोलिक्स विषयको अन्तिम परीक्षामा गरिएको एक सानो गल्तीले गर्दा, थोरैले पूर्णांक आउन सकेन । पाँचौ सेमेष्टरमा भने फेरि पुल्चोकको र आई.एस्सी., दोस्रो वर्षको परीक्षा जुध्ने स्थिति आइपर्‍यो । विशेषगरी आई.एस्सी.का प्रयोगात्मक अभ्यासका प्रतिवेदनहरु बनाउन तथा पुल्चोकका ड्रइङ लगायतका गृहकार्यहरु एकै समयमा सकाउनु पर्दा कहिलेकाहीं समय नपुगेर रातरात भर पनि जागा बस्नुपर्थ्यो । पुल्चोकको पाँचौ सेमेष्टर र आई.एस्सी., दोस्रो वर्षको परीक्षामा भने केही प्रतिशत नंबर घट्न पुग्यो । छैठौं सेमेष्टरमा पढ्नुपर्ने विषयहरु केही कम थिए । प्रोजेक्ट वर्क गर्नुपर्थ्यो र हरिशंकर श्रेष्ठ (हाल नेपालका प्रख्यात जलविद्युत ईञ्जिनियर) सरले हामीले प्रोजेक्ट वर्क्स गराउनुभएको थियो । हाजिरी जवाफ प्रतियोगिताहरुमा भाग लिने क्रममा मेरो छैठौं सेमेष्टरको पढाई अस्तव्यस्त बन्न पुगेको थियो । सेमेष्टरको अन्ततिर, हतार हतारमा प्रोजेक्ट वर्क्स सकाउनु परेको थियो । तै, हाम्रो सेक्सनमा उच्चतम अंक भने मेरै आएछ ।

आई.एस्सी., दोस्रो वर्षको तयारीका लागि टोपेन्द्रजी र मैले छात्रावास बाहिर चाकुपाटमा केही महिनाका लागि डेरा लिएका थियौं ।त्यस घरमा बिईमा अध्ययरत दाइहरु नविन गौतम (दाङ) र मन कुमार श्रेष्ठ (धरान) पनि बस्नुहुन्थ्यो । यस चोटि डेरा बसेर आई.एस्सी. तयारी गर्ने क्रमको डेरा बसाईमा रामचन्द्र तिवारीजी पनि जोडिनुभएको थियो । नियमित रुपमा आई.एस्सी. को कक्षमा जान नभ्याइएकोले हामीले दोस्रो वर्षको तयारीका सिलसिलामा पनि केही विषयमा ट्युसन पढ्यौं । त्यसै घरमा आई.एस्सी. प्रथम वर्षमा अध्ययनरत गोरखा, बोर्लाङका भाइ दिवस श्रेष्ठ (हाम्रा क्लासमेट रमेश श्रेष्ठका भाइ) पनि बस्नुहुन्थ्यो ।त्यहाँ बस्ने क्रममा नवीन दाइका बुबाआमा, वहाँका भाइ जीवन गौतम (हाल शिक्षामन्त्रीका सल्लाहकार) सँग पनि चिनाजानी भएको थियो । त्यस समय घरपेटीले विश्वकप हेर्न नयाँ टिभी किनेर ल्याएका थिए र नवीन दाइ लगायत हामीसँगै घरपेटीको कोठामा इटाली र नाइजेरियाका बिच भएको रोमाञ्चक खेलमा अन्तिम मिनेटतिर रोबर्टो बाजियोले गोल गरेर इटालीले जितेको खेल हिजै हेरेजस्तो लाग्छ ।

हामी तेस्रो वर्षमा पढ्दै गर्दा अर्को स्ववियु चुनाव भयो । यो चुनावमा भने अनेरास्ववियुले पुन: प्यानलै जित्न सफल भएको थियो ।यस चुनावमा सभापतिमा अनिलभक्त श्रेष्ठ दाइले नेविसंघका आमोद निरौला दाईलाई राम्रै मतान्तरले पराजित गर्नुभएको थियो भने स्ववियु उपाध्यक्षमा विमल गुरुङ र सचिवमा कृष्ण प्रसाद ढकाल विजयी हुनुभएको थियो । हाम्रो ब्याचका केही साथीहरु अनेरास्ववियु छैंठौं (पछि अखिल क्रान्तिकारी पनि भनिन्थ्यो) बाट उठ्नुभएको थियो, तर वहाँहरुको प्यानल पनि पूरा पराजित भयो ।

त्यतिबेला ओभरसियर वा बिई प्रवेश परीक्षाका लागि निजी संस्थाका कोचिङ कक्षाहरु खासै संचालन हुन्थेनन्, बरु स्ववियुले नै यस्ता तयारी कक्षाहरु संचालन गर्थ्यो । हामी भन्दा पछिल्लो ब्याच (२०४९/२०५०) को डिप्लोमा प्रवीणता तहका लागि स्ववियुले संचालन प्रवेश परीक्षा तयारीका केही कक्षाहरुमा मैले पढाएको थिएँ र हामीभन्दा दोस्रो पछिल्लो ब्याचका (२०५०/२०५१) लागि संचालित प्रवेश परीक्षा तयारीका कक्षाहरुमा पनि । पुल्चोकको (डिप्लोमा) प्रवीणता प्रमाणपत्र तह सकिने बेलातिर घरमा अलिकति भएपनि आर्थिक भार कम होस् भन्ने हेतुले पाटनढोका (तपाहिटी) र सानेपातिर केही होम ट्युसनहरु पनि लिन थालेको थिएँ ।

मेरो पुल्चोक क्याम्पसमा विभिन्न क्षेत्रमा बढ्दै गएको व्यस्तताका बिच समय बाँडिन जाँदा पुल्चोकमा पढाई हुने सबै विषयका पढाइमा अपेक्षित ध्यान पुग्न सकिराखेको थिएन । त्यसो नभएको भए शायद पुल्चोकको परीक्षाहरुमा अझ राम्रो नंबर ल्याउन सकिन्थ्यो कि? पुल्चोकमा अध्ययरत धेरै साथीहरुले प्राविधिक विषयका पछिल्ला हरुमा निकै राम्रो गर्दै जानुभएको थियो । हाम्रा ब्याचको सिभिल समूहमा पढाइमा धेरै प्रतिशत नंबर ल्याउने साथीहरुमा काली प्रसाद नेपाल, विदुर काफ्ले, विदुर घिमिरे, राजकुमार तामाङ, म लगायत थियौं । जे होस्, साथसाथमा भएको मेरो पुल्चोकको तीनवर्षे र पाटन संयुक्त क्याम्पसको दुई वर्षे पढाइमा कुनै पनि विषयमा ‘ब्याकपेपर’ दिनुपर्ने अवस्था चाहिं आएन ।

यस बाहेक पुल्चोक क्याम्पसमा अध्ययनरत रहँदा मेरो महत्वपूर्ण समय र ऊर्जा खर्च भएको क्षेत्र भनेको राजनीति पनि थियो । यस अघिका लेखहरुमा आफ्ना राजनीतिक गतिविधिहरुलाई मिसाउन त्यति मन नलागेकोले राजनीतिक विषय सम्बन्धित कुरालाई ‘कलेज जीवनको राजनीति’ शीर्षक लेख मार्फत आगामी श्रृंखलामा समेट्नेछु ।

लेखकबाट थप :

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्