Logo

नेपाल–भारत डुबानको अध्ययनप्रति दुवै प्रधानमन्त्री सन्तुष्ट



Spread the love

नेपाल र भारतका प्रधानमन्त्रीले सीमावर्ती इलाकामा हुने गरेको डुबान समस्याका सम्बन्धमा संयुक्त कार्यदलले अध्ययन गरिरहेकामा सन्तुष्टि व्यक्त गरेका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको समापनपश्चात् आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तामा उक्त विषयमा सन्तुष्टि व्यक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वार्ताका क्रममा केही महिनाअघि नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका वार्तामा भएका समझदारी क्रमशः कार्यान्वयन भइरहेकामा दुवै पक्षबाट सन्तुष्टि व्यक्त गरिएको थियो ।

समझदारीअनुुसार भारतले नेपाललाई केही हवाई रुट प्रदान गरिसकेको र केही प्रदान गर्ने विषयमा प्राविधिकरुपमा छलफल भइरहेको बताउँदै आन्तरिक जलमार्ग, रक्सोल–काठमाडौँ रेलमार्ग, जोगवनी विराटनगर रेलमार्ग, जयनगर–बर्दिवास रेलमार्ग तथा टनकपुरको सडकका सम्बन्धमा भइरहेको कामप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरे ।

विगतमा भएका समझदारी नेपालको आउँदो संविधान दिवसअगावै कार्यान्वयन गरिने विषयमा पुनःप्रतिबद्धतासमेत जनाइयो । वार्ताका क्रममा आउँदो पाँच वर्षका लागि नेपाललाई आवश्यक पर्ने मलखाद उपलब्ध गराउने विषयमा समेत गृहकार्य भइरहेको विषयमा पनि छलफल भएको थियो ।

नेपाली कृषकले अदुवा निर्यातका सम्बन्धमा भोगिरहनु परेको समस्यालाई भारतले अन्त्य गरिदिएकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त अवसरमा नेपालमा कृषिको आधुनिकीकरणका विषयमा सहयोगको आदानप्रदान गरिने विषयमा छलफल भएको थियो ।

उक्त अवसरमा रक्सौल–काठमाडौँ ब्रोडगेज रेलमार्गको प्रारम्भिक सर्भेका विषयमा दुई देशबीच हस्ताक्षर भएको समझदारीपत्रको आदानप्रदान भएको थियो ।

प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मोदीलाई सम्बोधन गर्दै भारतका पूर्वप्रधानमन्त्री तथा बिख्यात राजनेता अटलविहारी वाजपेयीको निधनप्रति दुःख व्यक्त गरे ।

उनले हालै भारतको केरला राज्यमा आएको बाढीका कारण भएको जनधनको क्षतिले आफूलाई दुःखी तुल्याएको पनि बताए । रासस 

प्रतिक्रिया दिनुहोस्