Logo

प्रहरीमा थप ३ हजार दरबन्दी, सबै स्थानीय तहमा प्रहरी कार्यालय



Spread the love

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले सङ्घीयता कार्यान्वयन र सुरक्षा सुदृढीकरणका लागि प्रहरीले सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरेको जानकारी दिए । ‘चार नगरपालिका र २६ गाउँपालिकाका लागि एक हजार ६५ प्रहरीलाई खटाएका छौँ,’ उनले भने ।

प्रवक्ता क्षेत्रीले नेपाल प्रहरीले गृहमन्त्रालयबाट गृह प्रशासन सुधार योजनाअनुसार जारी गरिएको ८२ बुँदे प्राथमिकता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनलाई मजबुत तथा विश्वसनीय बनाउनका लागि जारी गरेको १० बुँदे प्राथमिकतानुसार काम गरिएको बताए ।

लिम्चुङबुङ र रौतामाइ गाउँपालिका उदयपुर, परवानीपुर, प्रसौनी र बारागढी गाउँपालिका बारा, नरहा र अर्नमा गाउँपालिका सिरहा, कालीमाई गाउँपालिका पर्सा, देवाही गोनाही र मौलापुर नगरपालिका रौतहट, महोत्तरी गाउँपालिका महोत्तरी, विष्णुपुर गाउँपालिका सप्तरी, कौडेना गाउँपालिका सर्लाही, कोन्ज्योसोम गाउँपालिका ललितपुर, गौमूल, स्वामीकार्तिक गाउँपालिका र बुढीनन्दा नगरपालिका बाजुरामा प्रहरी एकाइ स्थापना गरिएको छ ।

यस्तै गौरीशङ्कर गाउँपालिका दोलखा, हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक, मकवानपुरगढी गाउँपालिका मकवानपुर, पञ्चकन्या गाउँपालिका नुवाकोट, मादी गाउँपालिका कास्की, पूर्वखोला गाउँपालिका पाल्पा, ओमसतिया गाउँपालिका रुपन्देही, दार्मा गाउँपालिका सल्यान, पचालझरना गाउँपालिका कालीकोट, लेकबेशी नगरपालिका सुर्खेत, आदर्श गाउँपालिका डोटी, मष्टा र दुर्गाथली गाउँपालिका बझाङमा रिक्त रहेको स्थानमा पनि प्रहरी कार्यालय स्थापना गरिएको छ ।

नयाँ स्थापना गरिएका स्थानीय तहमध्ये १४ वटा कार्यालयमा प्रहरी निरीक्षक र बाँकी १६ कार्यालयमा प्रहरी नायब निरीक्षकले नेतृत्व गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले संगठनलाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्नका लागि तीन हजार १०१ नयाँ दरबन्दी थपसमेत गरिएको छ । यसैगरी प्रदेश प्रहरी कार्यालय स्थापना हुन बाँकी प्रदेश २ र ५ का लागि प्रदेश प्रहरी र अन्य प्रहरीस्तरीय कार्यालयसमेत स्थापना गरिएकोे छ ।

मुलुकभर बढ्दो क्रममा रहेको सवारी साधन व्यवस्थापनलाई सहज बनाउनका लागि प्रहरीले प्रदेश संरचनाअनुसार प्रदेश ३ र ४ मा प्रदेश ट्राफिक कार्यालय स्थापना गरिने र यसका लागि प्रहरी प्रधान कार्यालयले नयाँ दरबन्दी थप गर्न पहल गरिरहेको छ ।

यस्तै प्रदेश नं ३ र ६ मा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी विद्यालय स्थापनाका लागि नयाँ दरबन्दी निकासा भई स्थापनाका लागि गृहकार्य भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्