Logo

दाङमा नदी पार गराउने बालीघरे प्रथा अझै कायमै



Spread the love

कपडा सिलाइ तथा फलामको भाँडा बनाएबापत वर्षौदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिटफुट रहे पनि डुङ्गासम्बन्धी बालीघरे प्रथा भने अझै कायम छ ।

यो प्रथा विशेष गरेर दाङको देउखुरी क्षेत्रमा नदी वारपार गराएबापत स्थानीय बोटे समुदायका मानिसलाई बाली बुझाउने गरिन्छ ।

देउखुरी क्षेत्रमा पर्ने राप्ती नदीमा पर्याप्त पुलपुलेसा नभएका कारण ठाउँठाउँमा स्थानीयवासीले यो बालीघरे प्रथा चलाएका हुन् । नदी वारपार गराएबापत मौसमअनुसारको धान, मकैँ, गहुँ, जौ आदि दिने गरेको सतबरियाकी सीता चौधरीले बताउनुभयो । “गाउँलेसँग बाली उठाउँछु । घरपरिवारलाई त्यही आम्दानीबाट चलाउने गरेको छु” लमही नगरपालिका पैतेकाका बोटे शिवु चौधरीले भन्नुभयो । उहाँले राप्ती नदीको रिहारघाटबाट डुङ्गा खियाउने गर्नुहुन्छ ।

पचपन्न वर्षीय चौधरीले २६ वर्षदेखि सोही पेशा गर्दै आउनुभएको छ । उहाँले त्यहाँ दुई कोठका डुङ्गा राखेर नदीमा बाढी आएको बेला ठूलो र पानी कम भएको बेला सानो डुङ्गा चलाउने गरेको बताउनुभयो । त्यस घाटबाट सतबरिया, रिहार पैते, गङ्गदी, सालभौरीलगायतका गाउँलेलाई नदी वारपार गराउने गरेको जानकारी दिनुभयो ।

सो काम गरेबापत परिवारको सङ्ख्या हेरी मौसमअनुसारको अन्न पाथीदेखि मुरीसम्म लिने गरेको छु”, उहाँले भन्नुभयो । रिहार र पैतेका अधिकांश मानिसको खेतीपाती सबै नदीपारि नै रहेको र वर्षायाममा निकै सास्ती हुने गरेको रिहारकी कमला चौधरीले बताउनुभयो ।

उहाँंका अनुसार स्थानीय बोटेले नदी वारपार गराएबापत परिवारको सङ्ख्याको आधारमा बाली लिने गरेका छन् । त्यसैगरी बाहिरका गाउँबाट आउने मानिसलाई भने नदी वारपार गरेवापत प्रतिव्यक्ति रु १० लिने गरेको छु, बोटे शिव चौधरीले भन्नुभयो । सो घाटबाट दैनिक आधा दर्जन गाउँका दुई÷तीन हजार मानिस नदी वारपार गर्दछन् । राप्ती नदीमा अधिकांश ठाउँमा पुल नहुँदा स्थानीयलाई निकै सास्ती हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्