Logo

फेसबुकमा गम्भीर समस्या, के हो कारण ?



Spread the love

बुधवार साँझदेखि सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ ।

केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या देखिएको छ। यी दुवै सामाजिक सञ्जालले ‘इरर’ म्यासेज देखाइरहेका छन्। र, ‘काम भइरहेको छ, चाँडै ठिक हुनेछ’ भन्ने म्यासेज छ।

फेसबुकले समस्या समाधानका लागि पहल गरिरहेको र केही समयमै समस्या समाधान हुने बताएको छ । नेपालमा पनि फेसबुक खोल्दा ‘इरर’को सन्देश आउने र छिट्टै यो समस्या समाधान हुने उल्लेख गरिएको सन्देश पनि आउँछ । तर नेपालको सन्दर्भमा बिहीबार बिहान सम्म धेरैको फेसबुकमा समस्या हटेको बुझिएको छ ।

केही प्रयोगकर्ताहरूकोमा फेसबुक खुले पनि उनीहरूले फोटा अपलोड गर्न, स्टाटस राख्न वा पेजहरू खोलेर पोस्ट गर्न पाइरहेका छैनन्।

संसारका विभिन्न देशका प्रयोगकर्ताहरूले आफ्नो फेसबुक र इन्स्टाग्राम नचलेको बताएका छन्। अमेरिका, ब्राजिल, पेरु, कोलम्बिया, मेक्सिको जस्ता देशका प्रयोगकर्ताले बुधवार आफूहरूले यी दुई सामाजिक सञ्जाल चलाउन नसकेको बताएका छन्। एसियाली मुलुकमा पनि धेरै प्रयोगकर्ताले चलाउन पाइरहेका छैनन्।

सबभन्दा बढी समस्या इंल्यान्डमा देखिएको मिरर डट युकेले जनाएको छ। फेसबुक र इन्स्टाग्राम चल्न छाडेपछि मान्छेहरू ट्विटरमा जोडिएको पनि मिरर डट युकेले लेखेको छ।

के हो कारण?

सामाजिक सञ्जाल फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरू देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक गरिएको छैन।

फेसबुक खुले पनि त्यसमा सामग्रीहरू प्रकाशित हुन सकेका छैनन् । म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ।

“फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ। हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ,” फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको छ।

अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको छ।

फेसबुकले सन् २००८ मा यस्तो किसिमको अवरोध बेहोरेको थियो तर त्यतिखेर विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड थिए । अहिले फेसबुक प्रयोगकर्ता करिब दुई अर्ब तीस करोड छन् ।

(अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको समाचार)

प्रतिक्रिया दिनुहोस्