Logo

मन्त्री आकाशबाट आएको होइन : लक्ष्मणलाल



Spread the love

२ असार, काठमाडौँ l राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसद्को मर्यादा कायम राख्ने तर्फ गम्भीर भूमिका निर्वाह गर्न गर्न सभामुखसँग आग्रह गरेको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भूमिका निर्वाह गर्न सभामुखसँग आग्रह गरेका हुन् ।

संसदीय समितिले दिएको निर्देशन संवैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिँन भनेर संसदीय गरिमामाथि नै चुनौती दिने काम गरेको भन्दै कर्णले सांसदका गरिमा, मर्यादा बचाउन अभिभावकको भूमिका निर्वाह गर्न सभामुखलाई आग्रह गरे ।

समिति र संसद्को अवहेलना र उपहास नहोस् भन्ने तर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए। राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा कर्णले आक्रोश पोखे ।

संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको सम्झाउँदै उनले संसद्को निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगको आलोचना गरेका थिए ।

कर्णले भने, “समितिको निर्देशन मान्दिँन भनेर मन्त्रीले भन्ने ? मन्त्रीको जन्म यही सांसदबाट भएको हो । मन्त्री आकाशबाट आएको होइन । मन्त्रीले बुझ्नुपर्छ । यो सांसदले जन्माएको हो मन्त्री । लोकसेवा आयोगको अध्यक्षले भन्छ म मान्दिनँ । प्रवक्ताले भन्छ म मान्दिनँ । अब कसको कुरा मान्ने त? संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र सांसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाइरहेको छ ? एक जना मन्त्री र एक जना लोकसेवा आयोगले चलाउन सक्छ यो देश ? विज्ञापनको विरोधमा आन्दोलन भईरहदा कसैलाई चिन्ता नभएपनि हामीलाई चिन्ता छ । यही समानुपातिक समावेशीका लागि हामीले लडाई गर्‍या हो आन्दोलन गर्‍या हो ।”

प्रतिक्रिया दिनुहोस्