Logo

नदीशका तीन कविता



Spread the love

पुर्कोट दह, गुल्मी स्थायी ठेगाना भई हाल टेक्सास अमेरिका बस्दै आइरहेका नदीश पेशाले आइटी कन्सल्ट्यान्ट हुन् । पुल्चोक क्याम्पसबाट कम्युटर ईन्जिनियरिङमा स्नातक नदीश दर्शन, साहित्य, हाइकिङ्ग, ट्रेकिङ्ग, क्याम्पिङ्गका साथै साहित्यमा पनि विशेष रुची राख्छन् । नदीशको हाँगामा झुण्डिएको आत्मकथा (कविता सङ्ग्रह- २०७४) प्रकाशनमा आइसकेको छ ।

प्रस्तुत छ, सल्लेरी कोलाजका लागि कवि नदीशसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:

राजु- शान्ति र संविधान, सहमति, राष्ट्र र राष्ट्रियता, मानवता, नैतिकता; अहिलेको राजनीतिक वृत्तमा सर्वाधिक चर्चित शब्दहरु हुन् । उसो त नेपाली कविता वृत्तका चर्चित शब्दहरु पनि यिनै हुन् । साहित्यले राजनीतिलाई पीडित बनाएको हो या राजनीतिले साहित्यलाई निन्दित गराइरहेको हो ? समकालीन नेपाली साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?

नदीश- हरेक मानिस समाज र राजनीतिसँग प्रत्यक्ष सम्बन्धित हुन्छ र प्रत्येक सचेत नागरिकले यसप्रति सरोकार पनि राख्छ । आफू वरपर आफू बाँचेको समयमा घटित घटनाक्रमहरुले हाम्रो सोचविचार या चिन्तनमा प्रभाव पार्दछ । शान्ति र संविधान, सहमति, राष्ट्र र राष्ट्रियता, मानवता, नैतिकता; अहिले हाम्रा सर्वाधिक चासोका विषयहरु हुन्, जसले हाम्रो दैनन्दिनको जीवन छोइरहेका हुन्छन् । समकालीन नेपाली सृजनामा यस्ता शब्दहरुको वर्चस्व हुनु, अस्वभाविक भएन र यी विषयहरुप्रति कुनै पनि सरोकार नै राख्दिनँ भनेर दाबी गर्ने सर्जकहरुको सृजनामा पनि अप्रत्यक्ष रुपमा यीनै कुराहरुबाट घटित घटना, सिर्जित मनोदशा या प्रभावित जीवनव्यवस्था नै अभिव्यक्त हुने हो । यी र यस्तै सामाजिक एवं राजनैतिक चासोको विषय साहित्यले उठान गर्ने भएकोले साहित्यले वर्तमान अवस्थाप्रति सत्यबोध गराउँछ । विसङ्गतिहरुप्रति सचेत गराउँछ र राजनीतिलाई उचित मार्गनिर्देशित गर्छ । हो, यही कुरा हाम्रा राजनीतिकर्मी चाहँदैनन् । यसर्थ, साहित्यले राजनीतिलाई नभएर राजनीतिकर्मीलाई चाहिँ पीडित बनाइरहेको छ ।

राजु- एक पक्ष भन्छन्,“सामाजिक जीवनको एउटा कमजोर र अव्यवहारिक मान्छे कवि हो ।” अर्को पक्ष पनि छन्, जसले मान्छन्,“कवि एक अहमवादी मान्छे हो । कवि को हो त तपाईंको विचारमा ?

नदीश- एक सचेत कवि समाजले निर्धारण गरेका सम्पूर्ण मुल्य मान्यताहरुलाई आँखा चिम्लेर स्वीकार गर्ने प्राणी नै हैन । आममनुजले स्वभाविक ठानेका कुराहरुलाई ऊ भिन्न दृष्टिकोणले नियाल्ने प्रयत्न गर्छ, प्रश्न गर्छ, चित्तबुझ्दो जवाफ नभेटिन्जेल उसको आत्मा भड्किरहन्छ । कवि स्वभावत: स्वतन्त्रताको पक्षपाती हुने भएकोले समाजले तोकेका हर ‘व्यवहारिक’ बन्धनहरुमा ऊ बाँधिन चाहँदैन । बाँधिएपनि ऊ हरपल निसास्सिरहेको हुन्छ । जब ऊ समाजको दायराभित्र अट्दैन या अटाउँन चाहँदैन या यसविरुद्ध हिँड्न खोज्छ, ऊ कि ‘अव्यवहारिक’ हुन्छ कि ‘कायर’ हुन्छ कि ‘पागल’ हुन्छ ।

राजु- नेपाली कविता लेखन क्षेत्रमा भावनात्मकता भन्दा पनि बौद्धिकता जोड दिइरहेको पाइन्छ । उसो त अग्रज बालकृष्ण सम पनि भन्थे,“कविता बौद्धिक कोमलता हो । फेरि बौद्धिकता भन्दैमा कविताभित्र सबैथोक घुसाउन पाइने कि नपाइने ? एउटा असल कविताले थाम्न सक्ने उत्तरोत्तर बौद्धिकता कहाँसम्मको हो ? तपाईं कविता लेखिरहँदा के कुरामा बढी ध्यान दिनुहुन्छ बौद्धिक कमोलता’ कि ‘जीवन सापक्षेता’ ?

नदीश- कविता मानव संवेदनाको गर्तभित्रबाट प्रष्फुटित हुने कुरा हो । भावनात्मकता, बौद्धिकताजस्ता कुरालाई प्रतिशतमा मिलाएर कुनै शुत्रभित्र राख्दैमा पनि कविता हुने होइन । यदि हामी ढोँगी हैनौं भने हामीभित्र निहीत विचार, चेतना, संवेदना, जीवनदर्शन, भोगाइ र आस्थाहरु हाम्रा रचना या अभिव्यक्तिहरुमा स्वत: आई नै हाल्छन् । जबरजस्ती ल्याउनै पर्दैन । तर, ती कसरी आउँछन्, कुन रुपमा प्रस्तुत हुन्छन्, त्यसले पाठकमाथि कस्तो किसिमको छाप छोड्न सक्छ भन्ने कुरा चाहिँ कवितामाथिको साधनामा भर पर्छ ।

०००

प्रस्तुत छ, नदीशका तीन कविता:

पहिलो कविता

मौनता

मौनता

आदत बन्दोरैछ !

 

आदत हो,

मिठो हुनैपर्छ भन्ने छैनरैछ

नमिठो पनि त हुँदो रैनरैछ !

 

मौनता

आदत बन्दोरैछ !

दोस्रो कविता

यस्तै छ साथी

बतासलाई क्यान्सर छ

म शीतका थोपाहरुमा रगत देखिरहेछु

 

आणविक मिसाइलको त्रास बोकेर

काँप्दै काँप्दै घुमिरहेको

धर्तीको म्लान डल्लो जस्तै लाग्छ यो खप्पर पनि

 

शुन्यता देख्दछु चारैतिर, फगत शुन्यता

एउटा निस्सीम विरानोपन

 

फूलहरु यस्तो उदास कहिल्यै थिएनन्

मुर्झाइरहेछन्

आफू उभिएको माटोभरि घाउ छ

 

न चराहरु नै थिए यति लाचार

झोक्राइरहेछन्

आफू अडिएको हाँगामा

झुण्डिएको छ रुखको लास

 

यस्तै छ साथी,

तिमी बातैपिच्छे नयाँ हालखबर सोधिरहन्छौ

के भन्नु खै ?

 

धमिलो छु आकाशजस्तै

मलिन छु जूनजस्तै

 

खनिज निकालिएको पहाडजस्तै

रित्तो छु

उजाड छु

भत्किएको छु !

तेस्रो कविता

यस्तरी मरुँ

झुन्डिएको होस्

सगर छोएर निहुरिएको बाँसको टुप्पामा

अस्ताउँदै गरेको जूनको आधा आकृति

फुल्दै गरेको होस्

क्षितिजमा एक्लै उभिएको पैयुँको हाँगामा

उदाउँदो घामको आधा आकृति

आधा घाम, आधा जूनको मायालु संसर्गबाट

सिन्चित होस् वैजनी रङ्मा आकाश

आफ्नो उज्यालो चेहेरा निल्दै गरेका टिलपिल टिलपिल ताराहरुले

सिर्जना गरून् आकाशगंगामा

दिनको उज्यालोमा हराउँदै गइरहेको

ईश्वरको एक अमूर्त चित्र

 

त्यो यस्तो बिहानी होस्

पृथ्वीको कौमार्य बटुलेर तप्प झरून् पृथ्वीजस्तै एक जोडी शीतका थोपा

बन्द हुँदै गर्दाका आँखाका ढकनीहरुमा

कि, कञ्चन शीतलता छाओस् निभ्दै गरेको जिन्दगीमा

बतासले बटुलेको होस् सुत्केरी माटोको आलो गन्ध

र ओछ्याइदियोस् आफूलाई

सुसुप्त हुँदै गइरहेको इन्द्रियहरुको विछ्यौनामा

यस्तो पल होस्

तरङ्गित हुने गरी कतै यौवन

सुमसुम्याइदेओस् कसैले यसरी यी हत्केलाहरु

कि, अनुभूत गरुँ

जिन्दगीबाट ओझेल परेको पहिलो प्रेमको किशोर स्पर्श

त्यो रूमानी मौनतामाझ

कता कता झङ्कृत भइदियोस् आक्कल झुक्कल

अबोध बालकको जिज्ञासु तोते बोली

 

मर्नु छैन यार यात्राको लम्बाइ नाप्नै नसक्ने गरी थकित भइसकेपछि पाइलाहरु

मर्नु छैन यार सपनै देख्न नचाहने गरी बुढो भइसकेपछि मस्तिष्क

मर्नु छैन यार जब अनुदत्त सम्झन थाल्नेछु यी ब्रह्माण्डका जम्मै रहस्यहरु

मर्नु छैन यार एकोहोरो भोगाइको दिक्दारीले जब सकिनेछन् जीवनबाट यक्ष प्रश्नहरु

 

हेर्दै गर्नु बालकजस्तै जिज्ञासु नजरले आफू बाँचेको संसार

गहिरो घोत्लिनु उसको अबोध जिज्ञासाहरुमा

यस्तरी मात्तिनु कसैको प्रेममा

कि चुर्लुम्मै डुब्नु पागल नदीको भुमरीभित्र

लागिरहनु मनभित्र यस्तो भोक

जस्तो कि निल्न सक्नु सम्पूर्ण ब्रह्माण्ड

उत्रिएपछि आँतबाट यावत नशा, यावत भोक

बिताउनु छैन कुनै अल्छी समय

कसरी मर्नु यार लतारेर चरम सुखपछिको आलस्यता ?

सम्भोग गर्दा गर्दै रहरका रङ्हरुसित

नमेटिँदै ज्ञानको असीम तिर्खा

बाँकी छँदै जिन्दगी ज्युनुको हुटहुटी

होस् न एउटा तरूण मृत्यु !

 

फूलको तरेलीबाट

जब खस्छ शीतको थोपा नीरव तलाउमा

तप्प !

छुटियोस् त्यसैगरी जिन्दगीको तरेलीबाट आत्मा

तरङ्गित हुनेगरी आत्मा दह

 

मेरो मृत्यु बोकेर

छाओस् एकैछिन् एउटा चिसो सन्नाटा

अल्झिएर मोहको डोरीमा

नचुहाओस् कसैले दुखको आँसु

नमुस्कुराओस् कुनै अनुहार कतै लुकाएर आफूलाई

हरेक मस्तिष्कभित्र छिरेर

शून्य समयले गरोस् एकैछिन गम्भीर मौनधारण

 

तटस्थ मुटु बोकेर फर्किउन् आ–आफ्नो गुँड

मेरो अस्तित्व सेलाएर फर्कने मलामीहरु

र जारी राखुन्

दैनिक जीवनका महत्त्वपूर्ण अध्यायहरुको सिलसिला !

 

साथी,

यस्तरी मरुँ जिन्दगीमा

कि,

खेर नजावस् कसैगरी सृष्टिको यो सुन्दर उपहार ।

०००

यो पनि पढ्नुहोस्ः

मौन आवाजका तीन कविता

श्रीजु सरलका तीन कविता

सुमन स्मारिकाका तीन कविता

०००

प्रतिक्रिया दिनुहोस्