Logo

वार्तामा नआए ‘विप्लव’ समूहले नै क्षति व्यहोर्नुपर्छ : बास्कोटा



Spread the love

१९ असार, काठमाडौँ l सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्तामा नआए नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नै क्षति व्यहोर्नुपर्ने चेतावनी दिए ।

विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः सङ्गठित आतंकवादतर्फ उन्मुख रहेको भन्दै सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताएका छन् ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटा विप्लव समूहप्रति आक्रामक तवर प्रस्तुत भए । विप्लव समूह वार्ताबाट भागेको भन्दै बास्कोटाले भने, ‘किन भाग्नुभयो भने वार्तामा आउँदा त केही छैन माग्ने कुरा ।’

कार्यकर्ता छाड् भन्ने तर, हिंसा गरिरहने कार्य स्वीकार्य नभएको उनले बताए । उनले भने, ‘लुटपाटको धन्दा जारी राख्नु हुन्छ भने क्षति व्यहोर्ने उहाँहरूले नै हो । हाम्रो अनुरोध छ, क्षतितर्फ नजानुस् । समय छ आउनुस् ।’ दुई तिहाइको सरकार सिमलको भुवा जस्तो नभएको भन्दै बास्कोटाले अघि भने, ‘चुनाव लड्ने हुती छैन, १२ वटा सिम फेरेर तर्साएर के हुन्छ ? यसबाट सरकार तर्सिँदैन ।’

रक्तपिपासु मानसिकता नेपाली समाजले अस्वीकार गरेको भन्दै मन्त्री बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई चेतावनी दिए ।

विप्लव समूहले प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा समेत उनले आक्रोश पोखे । उनले अघि भने, ‘उहाँहरूले निर्दोष मान्छे मार्दा क्रान्ति र प्रहरीले पक्राउ गर्ने खोज्दा गोली चलाउँदा कोही झुक्किएर पर्न गयो भने दमन ?’

प्रतिक्रिया दिनुहोस्