Logo

योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउछौ: शिक्षामन्त्री पोखरेल



Spread the love

२३ असार, काठमाडौँ l शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले योग शिक्षालाई स्कुल स्कुलमा पुर्‍याउने बताएका छन् ।

पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले आज आयोजना गरेको ‘केन्द्रीय कार्यशाला गोष्ठी एवं एलोप्याथिक चिकित्सा र योग’ विषयक विविध कार्यपत्र प्रस्तुत कार्यक्रमको उद्घाटन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

उनले विद्यालयमा योग शिक्षा पु-याउन पाठ्यक्रम निर्माण कार्य अगाडि बढिरहेको बताउँदै विद्यालय र विद्यार्थीमार्फत योग शिक्षालाई अब गाउँ गाउँसम्म पु-याइने उल्लेख गरे ।

पोखरेलले भने, “अब सामुदायिक विद्यालयमा योग, प्राकृतिक चिकित्सा, जडीबुटीको पढाई सुरु हुन्छ, यसका लागि आवश्यक पाठ्यक्रम निर्माण कार्य भइरहेको छ ।”

योगलाई शारीरिक व्यायामको रूपमा मात्रै बुझ्नु गलत हो भन्दै उनले भने, “मानिसको जीवन पद्धति बदल्न योगलाई बुझ्न र बुझाउन जरुरी रहेको छ, योगको खोज, अनुसन्धान र विस्तारलाई सँगै लैजानु पर्छ ।”

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा, बालमुकुन्द सुवाल, योग तथा प्राकृतिक चिकित्सा विज्ञ डा हरिप्रसाद पोखरेल,योगका गुरु दीर्घराज गिरी, पातञ्जल योग समिति नेपाल, केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदी लगायतले योग र यसको महत्वमाथि चर्चा गरे l

कार्यक्रममा अध्यक्ष सुवेदी, केन्द्रीय महासचिव नवराज काफ्ले, डा चन्द्रमणि खनाल, सुवर्णलाल चित्रकार, रामनाथ अधिकारी, दीपकप्रसाद नेपाल, जानुका भट्टराई लगायतले योग र प्राकृतिक चिकित्सा सम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गरी बृहत् छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्