Logo

नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर पर्‍यो : प्रधानमन्त्री ओली



Spread the love

३० असार, काठमाडौँ l नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

ग्रीनहाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि नेपालले यसको असर सहनु परेको उनको भनाइ छ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा काठमाडौँमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले भने, “नेपालको भू बनावटका कारण संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन् ।”

विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वाभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, “जलवायु परिवर्तनकै कारण वालीनाली प्रभावित भएका छन्, आवास तथा संरचनाको क्षति भइरहेको छ l यी सबै कारणहरूले अर्थतन्त्रमा ठुलो घाटा भइरहेको छ ।”

उनले भने, “हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतीहरूको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरहरूलाई सम्बोधन गर्न तयार रहने बाहेका उपाय छैनन् l हाम्रो संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । यो धाराको पूर्ण कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ ।”

सरकारले प्रत्येक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठुलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको उनको भनाइ छ । उनले आगामी मार्च महिनामा नेपाल सरकारको आयोजनामा सगरमाथा सम्वादको आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने, “त्यो अन्तर्राष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषयवस्तुउपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरूको जमघट हुनेछ l आउँदो पहिलो सम्वादको विषय जलवायु परिवर्तन नै हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्