Logo

सभापति देउवाले उद्धार र राहतमा सहभागी हुन गरे आग्रह



Spread the love

३० असार, काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरूलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन् ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा सही ढङ्गले कार्य गर्न आग्रह गरेका हुन् l

साथै उनले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढङ्गले गरिरहेको छ, त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गर्ने जानकारी गराएका छन् ।

अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति यसअघि काङ्ग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले दुःख प्रकट गरेका थिए l

‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्णरूपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँ । विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो’, विज्ञप्तिमा उल्लेख छ ।

लगातार वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने नागरिकहरूको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतकको आत्माको चिरशान्तिको कामना सभापति देउवाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्