Logo

सभापति श्रेष्ठमाथि आक्रोशित बने काँग्रेस सांसद सिंह



Spread the love

 

३ साउन, काठमाडौँ l राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काँग्रेस सांसद अमरेशकुमार सिंह र सभापति शशि श्रेष्ठबीच वाद-विवाद भएको छ ।

समितिको बैठकमा आज सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आफ्नो मन्तव्य राख्ने क्रममा सांसद सिंह सभापतिसँग आक्रोशित बने ।

विशेष समय मागेर बोल्न थालेको ३ मिनेटमा सभापतिले घण्टी बजाएर रोकेपछि सांसद सिंह आक्रोशित बनेका हुन् । सभापतिले मधेसी र काँग्रेस सांसद भनेर हेपेको आरोप समेत उनले लगाएका छन् ।

उनले भने, ‘सभापति ज्यू तपाईँ सधैँ यस्तै गर्नुहुन्छ l हिजो जनार्दन शर्मा बोल्दा मैले घडी हेरिरहेको थिएँ । उहाँले २५ मिनेट बोल्दा वास्ता गर्नु भएन, यहाँ दल नहेर्नुस् सबै सांसद बराबर हुन् ।’

उनले आफू अरू मधेसी र काँग्रेस सांसद जस्तो हेपिएर नबस्ने स्पष्ट पारेका छन् भने यता सभापति श्रेष्ठले समितिमा माननीयलाई विभेद नगरिएको बताइन् ।

उनले भनिन् ‘यहाँ न पार्टी हेरिन्छ, न नेता हेरिन्छ ।’ उक्त बैठकमा सिंहले निजामती कर्मचारी मर्यादामा बस्नुपर्ने धारणा राखेका छन् l उनले भने, ‘कर्मचारी एउटा कार्यालयमा ३ महिना पनि नबसी हाजिर भएर अन्यत्र सरुवा हुन्छन् । काम नगर्ने कर्मचारीलाई कारबाही गर्न कडा कानुन बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्