Logo

सरकारविरुद्द आन्दोलन चर्काउने सभापति देउवाको चेतावनी



Spread the love

६ साउन, काठमाडौँ l प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिए ।

उनले प्रेस काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद् बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहोर्याए ।

विपी जयन्तीको अवसर पारेर सहिद स्मृति प्रतिष्ठानले आज काठमाडौँमा सञ्चालन गरेको एक कार्यक्रममा सहभागिता जनाउँदै उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पारेका छन् ।

सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र समाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तको रूपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढ्दा मात्रै मुलुकमा समृद्धि आउने विश्वास पनि प्रकट गरेका छन् ।

सो अवसरमा उनले विपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गरेका थिए । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विपी कोइरालाले कम्युनिस्टहरूको अधिनायकवादी शासन विरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताउँदै विपी कोइरालाको समाजवादी विचारधारा कै बाटोबाट मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने पनि स्पष्ट पारेका छन् ।

उक्त कार्यक्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि विपी कोइरालाले नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा पुत्याएको योगदानको स्मरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्