Logo

क्लिन फिड हुँदैन भनेर मान्न सकिँदैन : मन्त्री बास्कोटा



Spread the love

६ साउन, काठमाडौँ l सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञापनसम्बन्धी विधेयकबाट क्लिन फिड लागू गरेरै छाड्ने अडान दोहोर्‍याए ।

आज संसद्को विकास समिति बैठकमा उपस्थित जनाउँदै उनले क्लिन फिडसम्बन्धी व्यवस्था हटाउन माग गर्दै संशोधन दर्ता गराउने सांसदलाई उक्त संशोधन फिर्ता लिन आग्रह गरेका छन् । उनले भने, ‘जतिचोटी छलफल गरे पनि क्लिन फिड हुँदैन भनेर मान्न सकिँदैन ।

यो विधेयकको मूल आत्मा नै मार्ने कुरा सम्भव छैन । यो बुझेर झिकिदिन आग्रह गर्दछु ।’ क्लिन फिड लागू गर्न नहुने भन्दै सांसद लक्ष्मणलाल कर्ण, एकवाल मियाँलगायतले संशोधन दर्ता गराए ।

आजको छलफलमा भने उनीहरू उपस्थित भएका थिएनन् । तर, मन्त्री बास्कोटाले संशोधन प्रस्तावको प्रसङ्ग कोट्याउँदै भने, ‘क्लिन फिड चाहिँदैन भन्ने पनि संशोधन आएको छ, यो मान्न सकिँदैन । राष्ट्रको भावना बुझेर फिर्ता लिइदिन अनुरोध छ ।’

उनले अमेरिका, भारत, कोरिया लगायतका देशमा समेत क्लिन फिड रहेको बताउँदै उनले यो अन्तर्राष्ट्रिय अभ्यास भएको बताएका छन् । मन्त्री बास्कोटाले भने, ‘कथित स्वतन्त्रताको वकालत गरेर हुँदैन, राष्ट्रियताको विषयलाई ख्याल गर्नुपर्छ ।’

क्लिन फिड राष्ट्रियता र रोजगारीसँग पनि जोडिएको मन्त्री बास्कोटाको भनाइ छ । ‘कोकाकोलाको विज्ञापनमा साहसिक देखाइएको छ । त्यो नेपालको हिमालको फेदीमा खिच्न सकिन्थ्यो, नेपाली कलाकारहरूले अवसर पाउँथे । त्यस कारण यो क्लिन फिड बजारमात्र नभएर हाम्रो कला संस्कृतिसँग पनि जोडिएको छ । आम्दानीको स्रोतसँग पनि जोडिएको छ, कलाकारले पाउने रोजगारीसँग पनि जोडिएको छ ।’

प्रतिक्रिया दिनुहोस्