Logo

पुष्पालालहरूले हिँडेको मार्ग दिशाबाट नै नेपालमा विकासको लहर आउनेछ : मुख्यमन्त्री गुरुङ



Spread the love

७ साउन, काठमाडौँ l गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्युनिस्ट क्रान्तिको तत्कालीन लक्ष्य समाजवाद उन्मुख जनताको जनवाद सुदृढ गर्नु रहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले समाजवाद उन्मुख जनताको जनवादका लागि राष्ट्रिय पुँजी विकास गर्नुपर्ने र यसले देशलाई आत्मनिर्भर र स्वाधीन राष्ट्रको रूपमा स्थापित गर्ने समेत बताएका छन् ।

४१ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा सञ्चालन एक कार्यक्रममा उपस्थित जनाउँदै उनले जनताको जनवाद र राष्ट्रिय पुँजीको विकास गरेर मात्र समाजवादको लक्ष्य पूरा हुन सक्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो तत्कालीन लक्ष्य समाजवाद उन्मुख जनताको जनवादी व्यवस्थाको सुदृढीकरण र प्रगतिशील शक्ति उत्पादनको विकास कसरी गर्ने भन्ने नै हो l यी दुई काम गर्दै समाजवादको तयारी कसरी गर्ने भन्ने अहिलेको हाम्रो कार्यदिशा हो ।’

सामन्तवाद अन्त्य भएता पनि यसको केही अवशेष बाँकी रहेकाले यसलाई समाप्त गर्ने चरणमा आफूहरू रहेको समेत मन्त्री गुरुङले बताएका छन् । उनले भने, ‘पुष्पालालहरूले हिँडेको मार्ग दिशाबाट नै नेपालमा विकासको लहर आउनेछ ।’

प्रतिक्रिया दिनुहोस्