Logo

नेपालको डुबानलाई नजरअन्दाज गर्नु हुँदैन : नेता भट्टराई



Spread the love

८ साउन, काठमाडौँ l नेकपा नेता योगेश भट्टराईले नेपालीहरू डुबानमा परिरहेको अवस्थालाई नजरअन्दाज नगर्न आग्रह गरे ।

संसद्मा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागिता जनाउँदै नेता भट्टराईले भारतले बनाएका संरचनाका कारण तराई–मधेस डुबानमा परेको उल्लेख गरेका छन् ।

भट्टराईले भने, ‘मित्र राष्ट्र (भारत)ले बनाएका कतिपय संरचनाका कारण तराई–मधेस डुबेको छ । धनजनको क्षति भएको छ । यसलाई नजरअन्दाज नगर्न मित्र राष्ट्र भारतलाई आग्रह गर्दछु ।’

उनले भारतीय संरचनाका कारण नेपाल डुबानमा परेको विषयलाई लिएर उच्च कुटनीतिक प्रयास गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए । काँग्रेस नेता मिनेन्द्र रिजालले बाढीपहिरोका विषयमा राखेको सार्वजनिक महत्वको प्रस्तावमा भट्टराईले समर्थन जनाए ।

भूकम्प पश्चात् सबै दल एक भए जस्तै अहिले पनि एक भएर विपद् विरुद्ध लड्न उनले आग्रह गरे । अवरुद्ध गरिएको प्रतिनिधि सभा बैठक आज सुचारु गर्न सहमत भएकामा नेपाली काँग्रेस र राजपाका सांसदहरूलाई धन्यवाद दिँदै उनले भने, ‘ संसद् अवरुद्ध नभएको भए यो महत्त्वपूर्ण विषयमा १० दिनअघि नै छलफल गरेर साझा धारणा बनाएर अघि बढिसकेका हुन्थ्यौँ ।’

उनले नेपाल सरकारले बाढी र डुबानपछि तदारुकता देखाएको भन्दै प्रशंसा गरेका छन् । तुरुन्तै मन्त्री परिषद्को बैठक बसेर उद्धार गर्ने, अवरोध हटाउने र क्षतिपूर्ति दिने निर्णय गरेको भन्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्