Logo

नरबहादुर कर्मचार्यकै घरमा बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेका हौँ : अध्यक्ष प्रचण्ड



Spread the love

९ साउन, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको घरमै आफूले जनयुद्धको सम्पूर्ण तयारी गरेको खुलासा गरे ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको छैटौँ स्मृति दिवसका अवसरमा सञ्चालन श्रद्धाञ्जली सभामा उपस्थित जनाउँदै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा एकता–केन्द्रमा एकै ठाउँमा भएको बेला स्वयंले कर्मचार्यको घरमै बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेको बताएका छन् l उनले भने, ‘मैले नरबहादुर कर्मचार्यकै घरमा बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेको हुँ l

म युद्धमा हाम फाल्दै छु भन्ने कुरा उहाँलाई थाहा थियो ।’ कर्मचार्यले आफूहरूको सुरक्षालाई लिएर चिन्ता प्रकट गर्ने र सुरक्षाका निम्ति गोपनीयता कायम गर्ने गरेको अध्यक्ष प्रचण्डले बताएका छन् ।

दाहालले कर्मचार्यसँग आफ्नो पार्टीगत सम्बन्ध नभई मात्र नभई व्यक्तिगत र पारिवारिक सम्बन्ध पनि राम्रो रहेको बताउँदै कर्मचार्य आफ्ना अभिभावक भएको बताएका छन् ।

कर्मचार्य पार्टी, आन्दोलन, राष्ट्र र वर्गप्रति समर्पित र निरन्तर आन्दोलनमा लाग्न व्यक्तित्व भएको अध्यक्ष प्रचण्डको भनाइ थियो । कर्मचार्य कम्युनिस्ट आन्दोलन र पार्टी एकताको पक्षमा रहेको र त्यसैलाई निरन्तरता दिन आफूहरू एकताको प्रक्रियामा अगाडि बढेको दाबी उनले गरेका छन् ।

कर्मचार्य आफूले लिनभन्दा पनि धेरै त्याग गर्न तयार हुने नेता भएको अध्यक्ष प्रचण्डको दाबी थियो । उनले भने, ‘यो चाहियो, त्यो चाहियो भनेर माग नगर्ने नेता हो उहाँ, आफूलाई नभए पनि अरूलाई होस्, पुगोस् भन्ने चाहनुहुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्