Logo

अहिले संसारमा धनी र गरिब बिचको खाडल झन् फराकिलो भएको छ : अध्यक्ष प्रचण्ड



Spread the love

९ साउन, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताए ।

केही मान्छेहरू मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण गर्न नसक्ने अध्यक्ष प्रचण्डको भनाइ छ । आज धुम्बाराहीमा आयोजित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसको अवसरमा उपस्थित जनाउँदै उनले सो मन्तव्य राखेका हुन् ।

उनले भने, ‘अहिले संसारमा धनी र गरिब बिचको खाडल झन् फराकिलो भएको छ । गरिबीको दुष्चक्रमा अरबौँ मानिसहरूले अहिले पनि पिल्सिएकै छन् । यो परिस्थितिमा मानव जातीको भविष्य समाजवादमा मात्रै छ ।’

अध्यक्ष प्रचण्डले नेपालमा समाजवादको नयाँ मोडेल विकास गरेर विश्वलाई देखाउनुपर्ने अवसर र चुनौती दुवै रहेको बताएका छन् । प्रचण्डले भने, ‘ठुलो अवसर पनि छ, चुनौती पनि हो । योभन्दा अझ ठुलो उचाइमा जानु छ । नेपालबाट समाजवादको नयाँ मोडल विश्वलाई दिनुपर्दछ । समाजवादको नयाँ धारा, नयाँ सिस्टम हामीले दुनियाँलाई दिन सक्नुपर्छ ।’

यस्तो अवसर विरलै आउने भन्दै उनले त्यसका लागि पार्टी एकता सुदृढ र सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताएका छन् । अध्यक्ष दाहालले भने, ‘सामाजिक न्यायसहितको समृद्धिको नयाँ मोडेल नेपालबाट दिन सक्नुपर्दछ । त्यो अवसर हामीलाई छ । यो अवसर पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाएर, गुणात्मक ढङ्गले जनताको मन जितेर मात्रै पूरा गर्न सकिन्छ ।’

उनले अब भदौ महिनाबाट पार्टीका नीति र सरकारका कार्यक्रमबारे जनतालाई जानकारी दिन देशव्यापी अभियान चलाउने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्