Logo

कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीको आकर्षण बढ्यो



Spread the love

१० साउन, काठमाडौँ l दुर्गमका विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा आयोजना भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।

दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सुरु गरिएकाले शिक्षक तथा विद्यार्थी निकै उत्साही भएका हुन् ।

बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय तथा स्थानीय साझेदार निकाय पिसविन परियोजना र सामुदायिक विकास परियोजनाको आर्थिक सहयोगमा दुई स्थानीय तहका चार विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा आयोजना गरिएको पिसविनका संयोजक टेकबहादुर थापाले बताए ।

कम्प्युटर सञ्चालन हुनेमा जिल्लाकै नमुना विद्यालयका रूपमा रहेको नौबिसस्थित भानोदय मावि, गाँज्रास्थित मालिका मावि, डोगडीस्थित मष्टेश्वरी मावि र बाह्रबिसस्थित सिङ्गाडा माविमा कम्प्युटर उपलब्ध गराइएकाले अहिले दुर्गम क्षेत्रका विद्यार्थीलाई उक्त विषय पढ्न निकै सजिलो भएको सम्बद्ध विद्यालयले जनाएको छ ।

यसबाट ग्रामीण क्षेत्रका विद्यार्थीले आधारभूत कम्प्युटर शिक्षा प्राप्त गर्नका लागि सदरमुकाम जानु पर्ने बाध्यता समेत हटेको छ । बाजुरामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाले सेवा क्षेत्रभित्रका विद्यालयलाई लक्षित गरी आवश्यक कम्प्युटर, फर्निचर, पुस्तकालय, भवन र अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री, पोशाक, कापी तथा कलम सहयोग गरिरहेको छ ।

भानोदय माविका प्राचार्य मनवीर खातीका अनुसार स्थानीयस्तरमै कम्प्युटर विषयको प्रयोगात्मक पढाइ हुन थालेपछि विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या पनि बढ्दै गएको हो l

यसअघि विद्यालयमा कम्प्युटरबारे किताबी ज्ञानमात्र दिइन्थ्यो अहिले भने प्रत्यक्ष कम्प्युटर चलाउन र सिक्न पाउँदा आफूहरूलाई निकै सजिलो भएको विद्यार्थी रवीन्द्र बुढाले बताए ।विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको सुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने नौबिसकी रुक्मिणी जोशीको भनाइ थियो ।

दुर्गम क्षेत्रमा रहेका विद्यालयमा कम्प्युटर शिक्षाको सुरुआत गर्न कतै वैकल्पिक सौर्य ऊर्जा र कतै स्थानीय बासिन्दाले आफ्नै लगानीमा विद्युत् उत्पादन गरिरहेका र यसबाट १ हजार ५ सय बढी विद्यार्थी लाभान्वित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्