Logo

मानविकी शिक्षा पढेर चिकित्साको ‘अफर लेटर’



Spread the love

१० साउन, काठमाडौँ l कक्षा १२ मानविकी शिक्षा लिएर पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् ।

विदेशी विश्वविद्यालयले अर्थाेपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन् । मानविकी शिक्षा लिएकालाई चिकित्साशास्त्रको मात्र होइन, जीवविज्ञान पढेकालाई भौतिकशास्त्र अध्ययनका लागि पनि ‘अफर लेटर’ पठाइदिने गरेको पाइएको छ ।

एउटा मात्र विषय लिएर विद्यालय तह पूरा गरेका विद्याथीहरू उच्च शिक्षा अर्काे विषय अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा ‘नो अब्जेक्सन लेटर’ लिन जाने प्रशस्तै भेटिएसँगै यस्तो काममा विद्यार्थीलाई उक्साउने काम यहाँका शैक्षिक परामर्शदाताहरूले गर्दै आएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले भने, ‘ विद्यार्थीले कुन विषय अध्ययन गर्न सक्छन्, कुन गर्न सक्दैनन् भन्ने विदेशी विश्वविद्यालयले हेक्का राख्दैनन् ।’

उनका अनुसार विदेशी विश्वविद्यालयलाई विद्यार्थी चाहिएको हुन्छ, त्यसैले जसलाई पनि जुनसुकै विषय अध्ययन गर्न पाउने गरी ‘अफर लेटर’ पठाइदिने गर्छन् ।

‘नो अब्जेक्सन लेटर’ लिन पुगेका त्यस्ता विद्यार्थीलाई शाखाका कर्मचारीहरूले ‘नो’ भनेर फर्काइदिने पनि गरेका छन् । विद्यार्थीहरू विदेश गइसकेपछि अध्ययनभन्दा पनि रोजगारी उनीहरूका लागि मुख्य ध्यान हुने हुँदा ‘नो अब्जेक्सन लेटर’ लिनु परेको हो ।

कतिपय अध्ययन पूरा गरेपछि स्वदेश फर्किन चाहनेहरू पनि हुन्छन् । तर त्यस्तो शैक्षिक प्रमाणपत्रलाई नेपाल सरकारले समकक्षता प्रदान गर्दैन भन्ने हेक्का राख्दैनन् ।

यसले गर्दा उनीहरूले मेहनत गरेर आर्जन गरेको प्रमाणपत्रले मान्यता प्राप्त गर्न नसकी खालि खोस्टोका रूपमा मात्र रहन्छ । नेपाल सरकारले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्न विद्यालय तहमा कम्तीमा ‘सी’ ग्रेड ल्याउनुपर्ने नियम बनाएता पनि विदेशी विश्वविद्यालयले ‘डी’ वा ‘ई’ ग्रेड ल्याएकालाई समेत आफू कहाँ अध्ययन खुला गर्न ‘अफर लेटर’ पठाइदिने गरेका छन् ।

शाखाका उपसचिव शर्माले भने, “यस्ता विद्यार्थी अध्ययनपछि नेपालमा आएमा उनीहरूको प्रमाणपत्रले समकक्षता प्राप्त गर्न सक्दैन । यसले गर्दा समस्या हुने देखिन्छ ।” उक्त शाखाबाट गत आर्थिक वर्ष २०७५÷७६ मा ६३ हजार २ सय ५९ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए ।

तीमध्ये सबैभन्दा बढी ३६ हजार ३ सय २४ जनाले अस्ट्रेलिया अध्ययनका लागि त्यस्तो पत्र लिएका थिए । शाखाका अनुसार दैनिक सरदर २५० जनाले ‘नो अब्जेक्सन लेटर’ लिने गरेका छन् ।

विदेश अध्ययनमा जाँदा प्रतिविद्यार्थी सरदर ३० लाख रुपियाँ लिएर जाने गरेको अनुमान गरिँदै आएको छ । एक पटक जारी गरिसकेपछि पुनः ‘नो अब्जेक्सन लेटर’ दिन नमिल्ने व्यवस्था भएता पनि कतिपय हरायो भन्दै प्रतिलिपि लिन शाखामा जाने गरेका छन् । तर उनीहरूलाई नेपाल राष्ट्र बैङ्कबाट पत्र ल्याउनू भनेर फिर्ता पठाउने गरिएको छ । बैङ्कले त्यस्तो पत्र हालसम्म कसैलाई पनि उपलब्ध गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्