Logo

सरकार बलात्कारीलाई कारबाही गर्न असफल भयो : तरुण दल



Spread the love

१० साउन, काठमाडौँ l नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापालाई निर्मला हत्याकाण्डका बारेमा दिएको अभिव्यक्ति फिर्ता लिन माग गरेको छ ।

कञ्चनपुरकी बालिका निर्मलाको बलात्कारपछि भएको हत्या घटनाको १ वर्ष पुगेको दिन तरुण दलले विज्ञप्ति जारी गरेर गृहमन्त्री थापालाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन माग गरेको हो ।

“यसअघि प्रधानमन्त्रीले न्याय पाउन १२ वर्ष लाग्छ भनेर भन्नू र अहिले गृहमन्त्रीले सञ्चारकर्मीसँगको कुराकानीमा ‘निर्मला हत्याकाण्ड नौलो नभएको र यस्ता घटनाहरू भइरहन्छन् र भइरहने’ जस्तो अति नै अमानवीय, गैरजिम्मेवार र निकृष्ट ढङ्गले अभिव्यक्ति दिएका छन् l ”

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल तरुण दल गृहमन्त्रीलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिन, जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन जोडदार माग गर्दछ ।”

बालिकाको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा हुँदा पनि सरकारले दोषी पत्ता लगाएर पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै तरुण दलले सरकारको आलोचना गरेको छ । सरकारले दोषी पत्ता लगाएर निर्मलाको परिवारलाई न्याय दिनुको सट्टा सरकार निर्दोषलाई फसाएर दोषीको संरक्षणमा उत्रिएको तरुण दलको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, “सरकारले न दोषी पत्ता लगाउन सक्यो न निर्मलाका परिवारलाई न्याय दिन सकेको छ । त्यस विपरीत सिङ्गो सरकार नै गलत दोषी खडा गरेर निर्दोषलाई फसाउने र दोषीलाई बचाउने खेलमा लाग्यो, निर्मला पन्तको बलात्कार र हत्यापछि पनि बलात्कार र हत्याका घटनाहरू भए । तर, सरकार ती सबैका दोषीलाई कारबाही गर्न पूर्ण असफल भयो ।”

सरकारले बलात्कारी र अपराधीलाई जोगाइरहेको, नागरिकको सुरक्षा गर्न नसकेको र कानुनको धज्जी उडाइरहेको टिप्पणी गर्दै सरकार विरुद्ध कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत तरुण दलले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्