Logo

नेपालले लगातार राष्ट्र सङ्घमा क्युबाको समर्थनमा भोट दिँदै आएको छ : अध्यक्ष प्रचण्ड



Spread the love

१० साउन, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्युबा माथि अमेरिकाले लगाएको प्रतिबन्ध मानवअधिकारका विश्वव्यापी मान्यता विपरीत भएको बताएका छन् ।

आजदेखि सञ्चालन भएको, नवौँ एसिया प्यासिफिक रिजनल कन्फरेन्स अफ सोलीड्यारिटि विद क्युबा नामक सम्मेलनमा सहभागिता जनाउँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अमेरिकाले क्युबा विरुद्ध ६ दशक देखि विभिन्न किसिमका प्रतिबन्धहरू लगाउँदै आएको र नेपालले भने त्यस्तो प्रतिबन्धका विरूद्ध क्युबालाई साथ दिँदै आएको अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।

क्युबाको पक्षमा र प्रतिबन्धका विरूद्धमा नेपालले राष्ट्र सङ्घमा समेत आवाज उठाएको उनले बताए । उनले भने, ‘नेपालले लगातार राष्ट्र सङ्घमा क्युबाको समर्थनमा भोट दिँदै आएको छ ।’

नेपालले आफ्नो राजनीतिक परिवर्तनमा समेत क्युबाका कम्युनिस्ट नेताहरूबाट प्रेरणा लिएको उनको तर्क छ । क्यूबाका नेता फिडेल क्यास्ट्रो र चे ग्वेभाराले त्यहाँको भ्रष्टाचारी शासक बाटिस्ता विरुद्धको लडाइँ लडेर देशलाई राम्रो स्थितिमा पुर्‍याएको भन्दै अध्यक्ष प्रचण्डले प्रशंसा गरेका छन् ।

उनले भने, ‘उनीहरूको लडाइँबाट प्रेरित भएर नेपाली कम्युनिस्ट आन्दोलनले पनि यहाँको राजनीतिमा परिवर्तन ल्याएको हो ।’ नेपालका दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता अन्तिम चरणमा पुगेको पनि सम्मेलनमा दाहालले जानकारी दिएका छन् ।

दुवै पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको महाअधिवेशन छिट्टै हुने अध्यक्ष प्रचण्डको भनाई छ । क्युबा र नेपाल भौगोलिक हिसाबले केही टाढा रहेकाले अन्तरक्रिया सीमित हुने गरेता पनि सम्बन्ध भने मजबुद रहेको उनको भनाइ थियो । अध्यक्ष दहालले भने, ‘प्रविधिको प्रयोगमार्फत दुई देशको सम्बन्धलाई अझै बलियो बनाउन सकिने छ, र यो दुवै देशका लागि फाइदाजनक हुने छ ।’

प्रतिक्रिया दिनुहोस्