Logo

निर्मला हत्याकाण्डबारे गृहमन्त्री थापाले भने- प्रहरीले नयाँ सूत्रबाट अनुसन्धान गरिरहेको छ



Spread the love

१३ साउन, काठमाडौँ l कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डमा प्रहरीले नयाँ सूत्रबाट अनुसन्धान गरिरहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

संसद्को प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिको आज बसेको बैठकमा सहभागिता जनाउँदै गृहमन्त्री थापाले पुराना सबै अनुसन्धानका तरिकाले फेल खाएपछि अहिले नयाँ सूत्र लगाएर भेटिएका नयाँ तथ्यहरू केलाउँदै अनुसन्धान चलिरहेको बताएका हुन् ।

उनले भने, ‘हामीले विभिन्न कमिटी बनायौँ सुरुदेखि नै तर असफल भए । सीआईबीका टिम पनि बनाउँदा ती पनि असफल भए । अपराधीलाई कानुनको कठघरामा ल्याउन सकेनन्, यो प्रकरणमा सरकारले आफ्नो काम गरिरहेको छ । तपाईँहरूले अपराध-अनुसन्धानको रणनीति केही भन्नुस् भन्नुभयो? ती विविध किसिमका हुन्छन्, मैले केही भन्न मिल्दैन ।’

उनले २०७५ साउन १० गते गाउँमै बलिकृतपछि हत्या गरिएकी पन्त प्रकरणमा प्रहरीको हिरासतमा दिलीपसिंह विष्टको नाम फेरि आउन थालेको बताए ।

उनले भने, ‘निर्मला हत्याकाण्डमा सबैले दिलीपसिंह विष्ट नै हो कि भनिरहेका छन्, उसको बयानले पनि त्यही देखाउँछ । तर अनुसन्धान चलिरहेको छ ।’

उनले कोही पनि हाइप्रोफाइललाई जोगाउन निर्मला प्रकरण नमोडिएको दाबी गरेका छन् । उनले भने, ‘धेरैलाई हाई प्रोफाइललाई जोगाउन हो कि भन्ने परेको छ, तर त्यो होइन । अहिले पनि अनुसन्धान चलिरहेकाले निचोडमा पुगिहाल्नु हुँदैन ।’

गृहमन्त्री थापाले यो प्रकरणमा सयौँ व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइएको बताएका छन् । उनले भने, ‘हामीले सयौँ व्यक्तिलाई अनुसन्धानका क्रममा बोलाएका थियौँ । सोधपुछ गरिएको छ । डिएनए म्याच नभएर रिहा भएका हुन्, अन्य सबै कुरा मिल्दा पनि डिएनए मिलेन । अहिले यो घटनालाई लिएर सार्वजनिक बहस भइरहेका छन् । सार्वजनिक बहसले समस्या हल हुँदैन। सुझाव त पुग्छ तर अनुसन्धान आफ्नै गतिमा अघि बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्