Logo

ग्रेडिङ प्रणालीको नतिजा राम्रो आउन समय लाग्छ : शिक्षामन्त्री पोखरेल



Spread the love

१४ साउन, काठमाडौँ l ग्रेडिङ प्रणालीको नतिजा राम्रो आउन समय लाग्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

आज नेपाल पत्रकार महासङ्घले सञ्चालन गरेको शिक्षा पत्रकारिता पुरस्कार २०७५ मा सहभागिता जनाउँदै मन्त्री पोखरेलले नयाँ प्रणाली लागू भएको २/३ वर्षमै नतिजा राम्रो आइ नहाल्ने बताए ।

उनले भने, ‘२/३ वर्षदेखि ११/१२ को नतिजा हेरेर शिक्षा प्रणालीको आलोचना गरिरहनु भएको छ । यो त १० वर्ष अघिको साथीहरूको मिहिनेत हो l अहिलेको प्रणालीको नतिजा आउन १० वर्ष लाग्छ ।’

मन्त्री पोखरेलले सामुदायिक विद्यालयको नतिजा माथि देखाउन ग्रेडिङ प्रणाली लागू नगरेको पनि बताएका छन् l उनले भने, ‘शिक्षा मन्त्रालयले १८ वर्षअघि अनुसन्धान गरेर तयार पारेको रिपोर्टले शिक्षामा ग्रेडिङ प्रणाली आवश्यक रहेको उल्लेख छ l त्यो रिपोर्टलाई आत्मसाथ गर्दै शिक्षा प्रणाली सुधारमा जरुरी छ भनेर नै ल्याइएको हो ।’

उनले शिक्षामा उत्तरदायी प्रणाली निर्माण गर्नुपर्ने बताउँदै अनि मात्रै शिक्षा क्षेत्र हेर्न लायक हुने उल्लेख गरेका छन् । शिक्षा जनशक्ति उत्पादन गर्ने क्षेत्र भएका कारण यसमा अझ ठुलो बहस आवश्यक भएको समेत मन्त्री पोखरेलको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्