Logo

नागपूजा किन गरिन्छ ? जान्नुहोस् धार्मिक तथा वैज्ञानिक कारणहरु:



Spread the love

काठमाडौं ।  ‘जुन घरमा नागको बास हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ’ भन्ने धार्मिक विश्वासका साथ सनातन हिन्दुहरूले नागपञ्चमी पर्व परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन  घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी नागपञ्चमी मनाइँदै आइएको छ ।

धार्मिक ग्रन्थहरू गरुण पुराण, स्कन्द पुराण, नारद पुराण, भविष्य पुराण र वराह पुराणमा नागको पूजा, अर्चनाबारेमा उल्लेख भएको पाइन्छ । वैदिकलगायत बौद्ध र जैन धर्मावलम्बीले पनि नागपूजा गर्ने प्रचलन रहेको पाइन्छ ।

नागलाई पानी र वर्षाका देवता रुपमा लिइन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।

नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि अर्थात (षष्ठी तिथिलाई छोएको पञ्चमीका दिन) गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पुजा विधि :

नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।

नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ ।

नागपूजा किन गरिन्छ ?

“यत्राहिसायिभगवान् यत्रास्त हरिरीष्वरः । भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।”

अर्थात, आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवानको चित्र टाँसी पूजा गर्नाले बज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ ।

कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर  जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।

आजका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाइन्छ । यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ ।

नागपूजा गर्नुको वैज्ञानिक कारण :

नगपुजाको पछाडी विभिन्न धार्मिक महत्वहरु रहेता पनि यसको पछाडी वैज्ञानिक कारणहरु भेटिन्छन्ना । गपूजा गर्नु परम्परागत मूल्यमान्यतालाई स्वीकार्दै धार्मिक विश्वासको जगमा टेकेर अन्धविश्वासी बन्नु मात्रै होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न मुक्त बनाउन सरीसृप प्राणि हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ ।

सर्प रहेमात्र हामी मान्छे जीवित र स्वस्थ रहन सक्छौं । मान्छे मात्र होइन, चराचर जगतको सन्तुलन मिल्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो ।

भगवानहरुको नाग अवतार :

भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु जलमाथि शेष नागको शैयमा फणको छातामुनि शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाएका भगवान गणेशको एक हातमा नाग छ । भगवान विष्णुको अवतारको रुपमा लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

नागपञ्चमीका दिन  काठमाडौं, नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौदह, ललितपुर धापाखेलको नाग दह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत अधिराज्यका विभिन्न नाग दहमा मेला लाग्ने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्