Logo

सांसद बिडारीको प्रश्न : मान्छेका लागि वन्यजन्तु कि वन्यजन्तुका लागि मान्छे?



Spread the love

२६ साउन, काठमाडौँ l नेकपाका सांसद राम नारायण बिडारीले सरकारसँग मध्यवर्ती क्षेत्रका बासिन्दालाई सुरक्षाको प्रत्याभूति दिन माग गरेका छन् ।

आज राष्ट्रियसभाको बैठकमा उपस्थित जनाउँदै सांसद बिडारीले वन्यजन्तु मार्दा राज्यको कानुनले जेल चलान गर्ने र नमार्दा आफ्नै ज्यान सङ्कटमा पर्ने जोखिम पूर्ण अवस्थामा मध्यवर्ती क्षेत्रका बासिन्दा रहेको भन्दै उपयुक्त ढङ्गले सुरक्षाको बन्दोबस्त मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

मानिस र वन्यजन्तु दुवैको संरक्षण गर्नुपर्ने दायित्व भएता पनि सरकारले भने वन्यजन्तुको मात्रै संरक्षण गर्ने गरेको आरोप सांसद बिडारीले लगाए ।

सांसद बिडारीले गरिबलाई न्यूनतम आवश्यकताका लागि बासस्थान बनाउन प्रयोग गर्न नपाउने जङ्गल र रुख रातारात विदेश तस्कर भइरहेको भन्दै ‘हरियो वन नेपालको धन’ भन्ने स्पष्ट नीति बनाउन ध्यानाकर्षण गराए ।

सांसद बिडारीले वन्यजन्तु र वनजंगल संरक्षणसम्बन्धी विद्यमान ऐन कानुनप्रति असन्तुष्टि जनाउँदै प्रश्न गरे, ‘मान्छेलाई सिकार गराएर वन्यजन्तु पाल्ने नीति लिने ठिक हो? कि मान्छेको पनि संरक्षण गर्नुपर्ने हो? मान्छेले वन्यजन्तु मारेमा २० वर्ष कैद गर्ने अनि वन्यजन्तुका कारण मानिसको मृत्यु हुँदा के गर्ने? रुखका लागि मान्छे कि मान्छेका लागि रुख? मान्छेका लागि वन्यजन्तु कि वन्यजन्तुका लागि मान्छे? मान्छेलाई वन्यजन्तुको आहारा बनाउने हो?’

प्रतिक्रिया दिनुहोस्