Logo

‘आभा काव्य लहर’को पाँचौं शृंखला सम्पन्न



Spread the love

काठमाडौं । आभा फर क्रियटिभिटीले आफ्नो ‘आभा काव्य लहर’को पाँचौं शृंखला सम्पन्न गरेको छ। राजधानीको सर्वनाम थिएटरमा आयोजित उक्त कार्यक्रममा कविहरु क्रमश: प्रभा भट्टराई, विमला तुम्खेवा, चन्द्रवीर तुम्बापो र प्रकाश रम्घालीले आ-आफ्ना कविताहरु वाचन गरेका थिए ।

करिब १०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा कवि, लेखक, साहित्यकार, विचारक,पत्रकार एवम् कला पारखी र साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो । दिउँसो ०३:०० बजे बाट शुरु भएको कविता विशेष उक्त कार्य्रकम  साँझको ०४: १५ सम्म चलेको थियो । कार्यक्रममा कवि प्रभा भट्टराईले आफ्ना छन्दवद्ध ५ कविता क्रमश: ‘कल्पना परी, नयाँ नेपालको कल्पना, परदेशबाट पत्र, खै एकताको बल र आमा’ शिर्षकको कविताहरु वाचन गरेकी थिइन् ।

उसैगरी कवि चन्द्रवीर तुम्बापोले ‘गुलाबी कवितामा विद्रोह, एक प्राचिन कविको दावी, विगठित निर्गमन, पछिल्लो चित्र गाउँमा र कथा बाजे’ शिर्षकको कविताहरु वाचन गरेका थिए ।

कवि बिमला तुम्खेवाले ‘सार्वजनिक बसमा त्यो दिन, ब्रम्हपुत्रको किनारमा उभिएर, गुलाबी आकाश, प्रेम र नेपालको नक्सा किनिमाको तिहुन’ शिर्षकका कविताहरु वाचन गरेकी थिइन् ।

र,  कवि प्रकाश रम्घालीले ‘तिमीलाई सम्झिएर, आधुनिक दु:ख, पहिलो प्रेम, स्वीकारोक्ति र तिमी भएर ब्यूझन मन छ’ शिर्षकका कविताहरु वाचन गरेका थिए ।

आभा फर क्रियटिभिटी ले आफ्नो नियमित रचना वाचनको २४ औं शृङ्खला समापन गरिसकेपछी विशेष शृङ्खला संचालन गर्ने सोचका साथ ‘आभा काव्य लहर’ शिर्षकको काव्य शृङ्खला २०७५ – असार देखी शुरु गरेको कार्यक्रम संयोजक अन्शु खनालले बताइन । उनका अनुसार आगामी काव्य शृंखलाको छैठौं अंक कार्तिक ३० गते हुनेछ । तीन-तीन महिनाको अन्तरालमा महिनाको अन्तिम शनिबार संचालन हुँदै आएको ‘आभा काव्य लहर’नामक काव्यिक शृंखला क्रमश: कविता र गजल विशेष रहँदै आएको छ ।

‘पठन संस्कृतिको विकास, सृजनशीलताको अभ्यास’ भन्ने मूल उद्देश्यका साथ स्थापना भएको ‘आभा फर क्रियटिभिटी’ ले कलाका विभिन्न पाटा साहित्य, चित्रकला, प्रफमेन्स आर्ट, संगित लगायत जनचेतना र समाजसेवामा समेत कदम चाल्दै आइरहेको छ । यस शृंखलाबाट कला/साहित्यलाई विशेष अभिरुचिका साथ स्थान दिँदै आइरहेको अनलाइन पत्रिका ‘सल्लेरी खबर’ले आभा फर क्रियटिभिटीसँग सहकार्य गरेको संयोजक खनालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्