Logo

सञ्चारकर्मी लामिछानेका समर्थकहरूको गैरकानुनी गतिविधि रोक्न सांसदहरूको माग



Spread the love

१ भदौं, काठमाडौँ l आजको प्रतिनिधिसभा बैठकमा सञ्चारकर्मी शालिकराम पुडासैनीबारे सांसदहरूले प्रश्न उठाएका छन् ।

विशेष समयमा बोल्दै सांसदहरूले अनुसन्धान प्रक्रियामा प्रभावित हुने गरी भइरहेका गतिविधि रोक्न पनि सरकारसँग माग गरेका छन् । सांसद महेश्वराज गहतराजले पत्रकार रवि लामिछानेका समर्थकहरूले अनुसन्धान प्रक्रियाप्रति अवरोध सिर्जना गरेको विषय उठाए ।

सांसद गहतराजले भने, “के निहुँ पाउँ र कनिका बोकाउ भन्ने उखानलाई चरितार्थ गर्ने गरी गैरकानुनी रूपमा हुलहुज्जत गर्ने काम भइरहेको छ । म त्यसको निन्दा र भर्त्सना गर्दछु ।”

सांसद गहतराजले अनुसन्धान निष्पक्ष हुनुपर्ने माग गर्दै प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी ठहर गर्ने कानुनी प्रक्रिया उल्लङ्घन गर्दै भइरहेका क्रियाकलाप शान्ति सुरक्षा र सुशासन विरुद्ध भएको बताएका छन् l

उनले प्रश्न गरे, “मेरो मान्छे राम्रो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले समाजलाई कतातिर लैजान्छ ? आज गम्भीर चिन्ता र चासोको विषय हो l”

त्यस्तै अर्का सांसद यज्ञराज सुनुवारले पनि सञ्चारकर्मी लामिछानेको गिरफ्तारीपछि भइरहेको गतिविधिलाई रोक्न आग्रह गरेका छन् । सांसद सुनुवारले दोषीले कानुनी सजाय पाउनुपर्ने र अनुसन्धान प्रक्रियालाई खलल पु-याउने गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्