Logo

पृथ्वी मासेर समृद्धि आउँदैन : संचारमन्त्री बाँस्कोटा



Spread the love

१ भदौं, काठमाडौँ l नेपालको पहिचानका रूपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जोड दिएका छन् l

ढोरपाटन दैनिकको १६औँ वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री बाँस्कोटाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा ढोरपाटनको पहिचान हराउन नदिने गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।

समृद्धिका नाममा प्रकृति मास्न नहुने बताउँदै मन्त्री बास्कोटाले भने,“पृथ्वी मासेर समृद्धि आउँदैन । नेपाल चिनाउने ढोरपाटनलाई पुरानै अवस्थामा राखौँ, पर्यटनको विकास गरौँ ।”

बागलुङ जिल्ला संस्कृतिमा समेत धनी रहेको भन्दै गीत सङ्गीतले बागलुङलाई विश्वमै चिनाएको मन्त्री बास्कोटाले बताएका छन् l खानी, पानी, श्रम र संस्कृतिले नेपालको समृद्धिलाई अगाडि बढाएको बताउँदै मन्त्री बाँस्कोटाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।

उनले भने, “समृद्धि त हासिल गरेरै छाड्छौँ l लगानी र प्रतिफलतर्फ सरकार अग्रसर छ, जनता ढुक्क भए हुन्छ । धरहरा, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता कार्य निर्माण हुनु भनेको नै समृद्धि हो l काम भएन भएन भन्नेले केही वर्षमा देशले हासिल गरेको प्रगति देख्नेछन् ।”

समृद्धिको आधारका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग, काली गण्डकी करिडोरलाई उपयोग गर्न सक्नुपर्ने मन्त्री बास्कोटाले बताए l

उनले भने, “समृद्धिका सपना पूरा गर्न यसका आधार निर्माण गर्नेतर्फ सरकार लागिपरेको छ l समृद्धि र सुखी’ भन्ने नारा जनताको सङ्कल्प हो । यसलाई पूरा गराउन सरकार प्रतिवद्ध छ ।’’

मन्त्री बाँस्कोटाले डिजिटल नेपाल निर्माणमा स्वयं लागेको बताउँदै फोरजी, स्याटलाइटजस्ता सञ्चार प्रविधिको विकासमा नेपालले फड्को मारेको उल्लेख गरे ।

यस वर्ष सरकारले पत्रकारसम्बन्धी १२ वटा कानुन बनाउन लागेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले यो वर्ष पत्रकारका लागि महत्त्वपूर्ण रहेको बताए । उनले मिडियालाई अपराध लुकाउन हैन, देखाउनका लागि उपयोग गर्न पत्रकारलाई आग्रह समेत गरे ।

उनले भने, “प्रहरीले स्वतन्त्ररुपमा कुनै पनि घटनाको अनुसन्धान गर्न सक्छ l गल्ती भए पत्रकार, नेता कसैलाई कानूनले छोड्दैन ।”

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य तथा स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले सङ्घीयता कार्यान्वयनसँगै समृद्धिका लागि आधार निर्माण भइरहेको भन्दै सरकारले गति लिइरहेको दाबी गरे । उपप्रमुख पौडेलले जुनसुकै पार्टी भए पनि विकास र समृद्धि साझा नारा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्