Logo

प्रदेश २ लाई समृद्ध बनाउन सकियो भने पुरै नेपाललाई यो प्रदेशले पाल्न सक्छ : अध्यक्ष प्रचण्ड



Spread the love

३ भदौं, काठमाडौँ l नेपालमा हुने डुबानसम्बन्धी समस्या समाधानका लागि भारत सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् l

आज जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सहभागिता जनाउँदै अध्यक्ष प्रचण्डले नेपालमा प्रत्येक वर्ष वर्षायाममा आउने बाढीबाट ठुलो जनधनको क्षति हुने गरेको बताउँदै उक्त समस्या समाधानका लागि भारत सरकारसँग सहकार्य गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका हुन् l

अध्यक्ष प्रचण्डले भने, ‘पानीको समस्या नेपालको मात्रै नभई भारतको समेत रहेकाले दुवै देशका सरकारले समन्वय गरेर अगाडि बढ्नु पर्छ ।’ नेपाल सरकारले यसका लागि पहल पनि गरेको अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भारततर्फ सीमामा बन्ने तटबन्ध तथा बाँधका कारण सबभन्दा धरै समस्या प्रदेश २ मै हुने गरेकोले सरकार यहाँको समस्या समाधानका लागि गम्भीर रहेको बताए ।

उनले भने, ‘प्रदेश २ मा बाढी मात्र नभई शितलहर, आगलागी, तातो हावा लगायतका कैयौँ प्राकृतिक विपदहरू प्रत्येक वर्ष आउने गर्छन्, ‘यी प्राकृतिक विपदहरूको चुरो के हो, यसको दीर्घकालीन समाधान के हुन सक्छ यस विषयमा सबै पक्षले गम्भीर भएर छलफल गर्नु आवश्यक छ ।’

अध्यक्ष प्रचण्डले यस वर्ष आएको बाढीबाट हुन सक्ने ठुलो जनधनको क्षति रोक्न सम्बन्धित निकायहरूले समयमै तदारूकता देखाएकोमा खुसी प्रकट गरे l

दाहालले भने,‘सीमित स्रोत साधनका बाबजुद जनधनको क्षति हुन नदिनका लागि देखाइएको तदारूकताका लागि सम्बन्धित सबै निकायलाई धन्यवाद दिनै पर्छ। ’

प्रधानमन्त्रीसहित स्वयं पनि छिट्टै प्रदेश २ को आठै जिल्ला भ्रमण गर्ने कार्यक्रम रहेको भन्दै सरकार यहाँको विकासका लागि ठुलै प्याकेज दिन तयार रहेको प्रतिबद्धता प्रकट गरे ।

प्रदेश २ लाई समृद्ध बनाउन सकियो भने पुरै नेपाललाई प्रदेश २ मात्रैले धान्न सक्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्ड भने,‘प्रदेश २ का समस्याहरूलाई समाधान गर्दै यस प्रदेशलाई चौतर्फी रूपमा विकास गरियो भने पुरै मुलुकलाई यो प्रदेशले पाल्न सक्छ र यसका लागि नेपाल सरकार गृहकार्य समेत अगाडि बढाइ सकेको छ ।’

प्रतिक्रिया दिनुहोस्