Logo

निर्दोषले सजाय भोग्न नपरोस् र दोषी उन्मुक्ति हुन् नपाओस् : सांसद चौधरी



Spread the love

३ भदौं, काठमाडौँ l नुवाकोटका सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान गरिरहेका बेला भइरहेको आन्दोलन उपयुक्त नभएको नेकपाकी सचेतक शान्ता चौधरीले बताएकी छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभा बैठकमा उपस्थित जनाउँदै सांसद चौधरीले अनुसन्धान प्रभावित हुने गरी भइरहेको प्रदर्शन रोक्न सबै दलहरू एक स्थानमा खडा हुनुपर्नेमा जोड दिइन् ।

न्युज २४ टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा चितवनमा भइरहेको आन्दोलनतर्फ सङ्केत गर्दै उनले भनिन्, “को दोषी र को निर्दोष भन्ने सवाल अनुसन्धान चलिरहेका बेला उत्तेजित भएर सडकमा निस्कने, अनुसन्धानलाई प्रभावित बनाउन खोज्ने विषयलाई विल्कुलै सही मान्न सकिन्न l यस्तो गतिविधि रोक्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्दछ ।”

तथ्यमा टेकेर सत्य पत्ता लगाउँदा निर्दोषले सजाय नपाउने र दोषी उन्मुक्ति नपाउने पनि सांसद चौधरीले जिकिर गरिन् l उनले भनिन्, “तथ्यमा टेकेर सत्य पत्ता लागोस् । त्यसो गर्दा निर्दोषले सजाय भोग्न नपर्ने हुन्छ र दोषी उन्मुक्ति पाउँदैन l”

सांसद चौधरीको राज्यका संयन्त्रलाई बाईपास गरेर अगाडि बढ्न खोज्दा देशमा उत्पन्न हुन सक्ने भयावह अवस्थालाई सबैले मनन् गर्नुपर्नेमा जोड थियो ।

उनले भनिन, “देश विधिले चलाउने हो, कानुनको सर्वोच्चतालाई सबैले आत्मसात गर्ने हो l राज्यका संयन्त्रलाई बाईपास गरेर अगाडि बढ्न खोज्दा देशमा उत्पन्न हुन सक्ने भयावह अवस्थालाई सबैले देख्न सक्नु पर्दछ ।”

सञ्चारकर्मी पुडासैनीको मृत्युभन्दा पहिले रेकर्ड भएको भिडियो र त्यसमा लगाइएको आरोपकै आधारमा प्रस्तोता लामिछानेमाथि प्रहरीले अनुसन्धानमा गरिरहेको भन्दै उनले भनिन्, “अनुसन्धानका आफ्ना प्रक्रिया हुन्छन्, जुन क्रम जारी छ । न त रवि लामिछाने दोषी हुन् भन्ने प्रमाणित भएको छ, न त निर्दोष हुन् भन्ने प्रमाणित नै भएको छ ।”

प्रतिक्रिया दिनुहोस्