Logo

असली कविता लेख्न सकेको दिनबाट मेरो लेखनको यात्रा समाप्त हुन्छ



नेपाली साहित्यमा लोकप्रिय नाम हो हेम प्रभास । धादिङमा जन्मिएका उनका चारवटा कृतिहरु: पहाड बोकेर पहाडतिर (२०६६), सहर पसेको मान्छे (२०७०), गीतैगीतको गाउँ (२०७१), उल्झन (२०७४) प्रकाशित छन् ।

लेखनमा मात्रै नभई उनी निर्देशनमा पनि उत्तिकै खटिरहन्छन् । नाटक र उपन्यास माथि भिडियोहरु बनिरहेको समयमा उनले निर्देशकका रुपमा नेपाली कविता माथि पहिलो प्रयोग गरेका थिए । उनले पहिलो पटक कविता माथि भिडियो निर्माण गरेका थिए । साथसाथै उनले करिब अठार वटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

हरेक वर्ष प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय कविता महोत्सव (२०७६) मा प्रथम भएका उनले राष्ट्रव्यापी कविता प्रतियोगिता २०६६, २०६७, २०६८, युवा तथा खेलकूद मन्त्रालय राष्ट्रिय कविता महोत्सव २०६८, नेपाल प्रज्ञा प्रतिष्ठान, विश्वव्यापी नेपाली अडियो कविता प्रतियोगिता २०११, विश्व नेपाली साहित्य महासंघ, आदि पुरस्कारहरुद्वारा सम्मानित भएका छन् ।

प्रस्तुत छ, उनै हेम प्रभाससँग सल्लेरी कोलाजको लागि अन्शु खनालले गरेको साहित्यिक वार्ताको संक्षिप्त अंश:

अन्शु- सर्वप्रथम यहाँलाई प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय कविता महोत्सव २०७६’ मा प्रथम हुनुभएकोमा बधाई छ । तपाईँ कविता, आख्यान हुँदै फिल्म मेकिङसम्म पुगिसकेर पनि फेरि किन कविता प्रतियोगितामा ? 

प्रभास- धन्यवाद । कविता मैले हिँडिरहेको मूलबाटो हो । म हिजो कविताकै बाटोमा हिँडेँ, आज पनि कविताकै बाटोमा छु र भोलि पनि रहनेछु । आख्यानका हरफहरुमा तरलीकृत हुनु, कविता तथा गीतहरुको चलदृश्यमा संलग्न रहनु वा फिल्म मेकिङ प्रक्रियामा आवद्ध हुनु मेरो काव्यिक चेतना र काव्यिक अन्तर्लयको प्रतिच्छाया हो । रह्यो, प्रतियोगिताको कुरा । समयको बहावमा म कविताकै मूलधारमा छु, कविताबाट किनारा लागेको छैन भन्ने कुराको द्योतक हो- यो सन्दर्भ ।

अन्शु- भनिन्छ नि, एउटा राम्रो कवितामाथि एउटा राम्रो समालोचनाको आवश्यकता पर्दछ । नेपाली समालोचनाको अवस्था के कस्तो पाउनुभएको छ ?

प्रभास- कविता आफैँमा एउटा मन्त्रजस्तो विषय हो । कवितामाथि समालोचना गर्नु नै गलत हो, आवश्यकता पर्नु त परको कुरा । कविता जीवन र जगतको प्रतिक्षा हो । यो व्यक्ति र परिवेशअनुरुप महसुस गरिने कुरा हो । कवितालाई प्रकृति, संस्कृति र समुदायको त्रिकोणात्मक सम्बन्धका रुपमा लिन सकिन्छ । यदि कवितामाथि समालोचना नै हुनुपर्छ भन्ने मान्यतालाई स्वीकार गरेर भन्ने हो भने नेपालमा आजसम्म कवितामाथि कुनै पनि समालोचना भएकै छैन ।

भन्न त ताना शर्माले बालकृष्ण समको ‘चिसो चुह्लो’लाई झुसिलो डकारसम्म भन्न भ्याए । समयक्रममा कविताको समालोचना भन्ने नाउँमा जेजे लेखिँदै आए, ती सब बकवास हुन् । हिजोआज विद्युतीय माध्यम र प्रकाशित माध्यमबाट कविताको समालोचना भन्दै जेजे प्रसारित, प्रकाशित छन् ती कुनै पनि समालोचना होइनन्, कविताविषयक टिप्पणी मात्र हुन् । दुई चार वटा कविता लेखेर, दुई चार वटा कविता पढेर, दुई चार वटा किताब छापेर, दुई चार थरी सिद्धान्त हेरेर कविताको समालोचना भन्दै आज जेजे बोलिएको छ, ती बकवास हुन् । यो कुरा हाम्रो जस्तो तरलीकृत समाजले धेरै पछि मात्र बुझ्छ । कविताबाहेक अन्य विधाहरुको समीक्षा, समालोचना चाहिँ नेपालमा छिटपुट रुपमा भइरहेका छन् ।

अन्शु- तपाईँ आफ्नो लेखनको केन्द्र केलाई मान्नुहुन्छ ?

प्रभास- म कवितालाई आफ्नो लेखनको केन्द्र मान्छु । यसको अर्थ म कविता लेखिरहेछु होइन । म कविताको खोजी गरिरहेको छु, कवितामा आविष्कारको परिकल्पना गरिरहेको छु । असली कविता लेख्न सकेको दिनबाट मेरो लेखनको यात्रा समाप्त हुन्छ । अहिले म यात्रामै छु ।

अन्शु- आख्यान विधाको अनुभव कस्तो रह्यो ? अर्को पुस्तकको सोचमा हुनुहुन्छ ?

प्रभास- घटना वा विषय सन्दर्भले लामो आयतनको माग गरेकोले कविताभित्र ती कुरा समेट्न सक्दिनँ सोचेर मैले आख्यान लेखेँ । त्यो पनि मभित्रको काव्यिक छटाको बृहत् रुप हो । आजसम्म औपचारिक रुपमा पढिँदा वा पढाइँदा आख्यानलाई जसरी परिभाषित गरिएको छ, त्यो फ्रेमभन्दा फरक किसिमले डिजाइन गरिएको हुँदा आम मान्छेले आख्यान भन्ने बित्तिकै जे बुझ्दै आएका छन्, त्यो बुझाइभन्दा फरक किसिमको झिनो कथानक शिल्प सज्जामा मात्रै बढी फोकस गरिएकोले मैले लेखेको आख्यानलाई धेरैले सहजै स्वीकार गर्दैनन् । यसको क्राफ्ट र बुनोट चलनचल्तीको भन्दा फरक छ । अब चाहिँ यही वर्ष मेरो नयाँ कविताहरुको सँगालो आउँदै छ । आजसम्म कतै प्रकाशित-प्रसारित नभएका चालीस थान नयाँ कविताहरु क्यानडाको ब्रोड भ्यु प्रेसले प्रकाशनमा ल्याउँदै छ । यसैको नेपाली भर्सन चाहिँ नेपालमै छापिन्छ ।

अन्शु- साहित्य र राजनीतिको सम्बन्ध केकस्तो छ र हुनुपर्छ ?

प्रभास- संसारमा मानिसको जीवनभर चल्ने प्रक्रिया भनेकै साहित्य र राजनीति हो । साहित्य भावना हो, राजनीति द्वन्द्व हो । जुन सबै मानिसभित्र हुन्छ । कसैले बोल्ने, लेख्ने गर्दछन् त कतिले महसुस मात्र गर्छन् । गहिराइमा जाने हो भने यिनको पद्धति र प्रक्रिया धेरै हुन्छन् ।

अन्शु- तपाईं लेखनमा कस्तो मुद्दा उठाउनु हुन्छ ?

प्रभास- म लेखनमा सामाजिक कुराहरु नै उठाउँछु, तर अहिले आएर हेर्दा मैले जति मुद्दा उठाउनु पर्थ्यो त्यति नउठाएको महसुस भइरहेको छ । अब आउने नयाँ कविता सङ्ग्रहमा लगभग लगभग एसियाको समाजलाई प्रतिनिधि रचना मार्फत गर्न खोजिरहेको छु ।

अन्शु- तपाईं भन्दा अघिल्लो पुस्ता, तपाईंको पुस्ता र आउँदै गरेका नयाँ पुस्ताको लेखन शैलीमा के अन्तर पाउनु भएको छ ?

प्रभास- प्रकृति, संस्कृति र समाजको प्रतिछाया लेखन भएको हुनाले समयक्रममा त्यसमा परिवर्तन हुँदै जान्छन् । त्यसलाई हामीले सहज रुपमा लिनुपर्छ । कतिपय स्थापित मान्यता छन्, ती मान्यताहरुलाई पनि मान्नुपर्छ र त्यो भित्रका केही परिमार्जन गर्न आवश्यक भएका कुराहरु चाहिँ परिमार्जित हुदै जाने कुरा हो समयसँगै ।त्यसकारण म भन्दा अघिल्लो पुस्ता, मेरो पुस्ता र अब आउने पुस्ताको लेखन शैली, ढाँचा र अभिव्यक्ति कला चाहिँ फरक छ, त्यसको कारण चाहिँ प्रकृति, संस्कृति र समाजले निर्माण गरेको व्यक्तित्व हो ।

अन्शु- नेपाली साहित्यको बजार कस्तो छ ? यहाँ जे बिक्छ, त्यो टिक्छ ?

प्रभास- यहाँका मानिसहरुको सामाजिक, आर्थिक, वैचारिक चेतनको स्तरले बजार निर्धारण गर्छ । त्यसो हुनाले यहाँ जे कुरा जसरी बिकेको छ, त्यो यहीँका मानिसहरुको चेतनाको स्तर निर्धारण गर्ने कडी हो । कविता पढ्ने, कविता बुझ्ने र कवितामाथि धारणा बनाउने मानिसको संख्यामा कमी छ । खासमा भन्ने हो भने यहाँ साहित्यको बजार नै छैन । साहित्यका नाममा जे बिकिरहेको छ, त्यो साहित्य होइन । यदि साहित्य हो भने ती प्रशस्त बिकेका साहित्य भनिएको ग्रन्थलाई अन्य विविध भाषामा अनुवाद गरेर नेपालबाहेकका देशका प्रकाशन गृहलाई दिँदा तिनले पत्याएर, छापेर विश्वव्यापी रुपमा लैजान्छ । नेपालका प्रकाशन गृहले जुन भाषामा अनुवाद गरेर छापे पनि त्यस्ता किताबहरु विश्वव्यापी रुपमा जान सक्दैनन् । मैनबत्तीको उज्यालो धेरै बेर टिक्दैन ।

०००

यी पनि पढ्नुहोस्ः

राजन मुकारुङ सँग अक्षरका कुरा

साहित्य यस्तो विधा हो- जहाँ शत्रु पनि विद्वान फेला पर्छन्

ज्ञानमा कर लगाउनु भनेको नागरिकलाई ज्ञानमा सिमितता ल्याऊ भन्नु हो

कविता, कथा तथा सृजनात्मक लेखनमा सक्रिय गोर्खाकी अन्शु खनाल मनोविज्ञानकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्