Logo

अटो व्यवसायीलाई अर्थमन्त्री खतिवडाको आग्रह : इमान्दार भएर उद्योग व्यापार चलाउनुहोस्



Spread the love

१० भदौं, काठमाडौँ l व्यवसायीहरूलाई इमान्दार भएर उद्योग व्यापार चलाउन अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् l

सरकारले पनि घाटाको व्यापार नगर्ने भन्दै अर्थमन्त्री खतिवडाले छलीको प्रयास नगर्न चेतावनी दिए । नाडा अटो शोको उद्घाटन समारोहमा सहभागिता जनाउँदै अर्थमन्त्री डा. खतिवडाले भने, “तपाईँहरूले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेस हुन चाहन्छ, तपाईँहरू पनि इमान्दारीपूवर्क पेस भइदिनुस् । अनि हामी टेबलमा बसेर कुरा गर्न सक्छौँ ।”

सरकारले विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा भन्सार र अन्तःशुल्क छुट दिएको तर कतिपयले ब्याट्रीबाट स्टार्ट मात्र हुने गाडीहरू आयात गर्न खोजेको गुनासो अर्थमन्त्री खतिवडाले गरेका छन् ।

उनले भने, “तपाईँहरूले ब्याट्रीले स्टार्ट मात्र हुने, चल्दा चाहिँ डिजेल पेट्रोल नै चाहिने गाडी ल्याएर भन्सारमा राखिदिनुभयो, हामीले दिने विद्युतीय सवारी साधनको छुट त्यस्तो होइन कि ९० प्रतिशत परम्परागत ऊर्जा डिजल पेट्रोल नै खर्च होस्, १० प्रतिशतचाहिँ विद्युतको प्रयोग होस् अनि तपाईँलाई भन्सारमा सबै प्रकारको छुट होस् ।”

अर्थमन्त्री खतिवडाले गाडीमा सरकारले भन्सार छुट नदिने बताउँदै आयात नगर्न व्यवसायीलाई अनुरोध गर्दै नक्कली पार्ट पूर्जासमेत आयात गर्ने गरेको गुनासो अर्थमन्त्री खतिवडाले गरेका छन् l

उनले भने, “त्यो सरकारले ल्याएको होला र ? तपाईँहरूकै साथीहरूले ल्याएको त होला । तपाईँले भन्न पनि सक्नुपर्‍यो नि । सरकारले हेर्ला, हेरेन भने सरकारको कमजोरी हो, तर ल्याउनेले पनि त्यसको पहिलो दोष त भोग्नु पर्‍यो नि ।”

प्रतिक्रिया दिनुहोस्