Logo

संविधान दिवस ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था हो : मन्त्री बाँस्कोटा



Spread the love

१२ भदौं, काभ्रेपलाञ्चोक । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

आज काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प नभएको विचार व्यक्त गर्दै उनले भने, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, कुनै पनि प्रकारको निरङ्कुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन् ।”

मन्त्री बाँस्कोटाले लोकतन्त्र जनताको सर्वोपरि विषय भएको बताउँदै उनले भने, “रगतसँग साटिएको यो उपलब्धि कुनै पनि हालतमा गुम्दैन, हाम्रो पुर्खा र विरासत के हो, आगामी पाँच पुस्तालाई पनि सिकाउनुपर्दछ ।”

अँध्यारोबाट उज्यालोतर्फ लागेको देशलाई यात्रामा धावा बोल्नेले ‘चट्टानसँग कुइनो लडाउनुभन्दा पनि खतरनाक’ खालको हुने समेत मन्त्री बाँस्कोटाले बताए l

कसैले जनताको उपलब्धिप्रति प्रश्न उठाउनु अपराध हुने उल्लेख गर्दै प्रश्न उठाउनेलाई सर्व साधारणले कुल्चिदिनुपर्ने मन्तव्य मन्त्री बास्कोटाले राखेका छन् l

उनले भने, “इतिहासमा कसैले कुँडाकर्कट बनाइसकेका, इतिहासमा अयोग्य तत्वको केही चलखेल जस्तो देखिन्छ, कथित सलबलाउन खोजेकालाई जनताले नै जवाफ दिनेछन् ।”

मन्त्री बाँस्कोटाले रगतसँग साटिएको उपलब्धिसँग खेलबाड गर्ने कोसिस भएकोप्रति सजग रहनुपर्ने सुझाव दिँदै यो व्यवस्था कुनै नेता वा कुनै व्यवस्थामा जन्मेकाले नल्याएको बताउँदै विकास, निर्माण, परिवर्तन, जागरण, उपलब्धि, विरता, धैर्यता र सपनाका दृष्टान्त देखाएर संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गरेका छन् ।

मन्त्री बास्कोटाले भने, “संविधान दिवस भव्यताका साथ मनाउनुपर्छ, हामीले ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था हो यो, उपलब्धि रक्षा तथा समृद्ध नेपालको यात्रामा सफलताका निम्ति सबै जनताको सफलताको शुभकामना चाहिन्छ l”

प्रतिक्रिया दिनुहोस्