Logo

संचारमन्त्री बाँस्काेटाको प्रश्न : नेताहरूलाई नै सिध्याएपछि यो गणतन्त्रकाे अस्तित्व कहाँ रहन्छ ?



Spread the love

१३ भदौं, काठमाडौँ l तानाशाही व्यवस्थामा अलिकति पनि नबोल्नेहरू अहिले चाहिँ गणतन्त्र फाल्न लागि परेकाे आरोप संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले लगाएका छन् l

आज ‘नेपाल मिडिया काउन्सिल विधेयक’ पेस गर्दै मन्त्री बाँस्काेटाले कसै-कसैले गणतन्त्र फाल्न ‘ओपन च्यालेन्ज’ दिएकाे आरोप लगाएका हुन् l

मन्त्री बाँस्काेटाले भने, ‘तानाशाही व्यवस्थामा चुँ नबोल्ने, मुन्टो घोस्याए हिँड्ने, कलमको मुख बन्द गरेर हिँड्ने, अनि चाहिँ हाम्रो पनि गणतन्त्र हाे, त्यस कारण गणतन्त्र फाल्न पाइन्छ, ल आउँ मिलौँ, कहिले देश टुक्य्राऔँ, कहिले गणतन्त्र फाल्ना आउँ भनेर गणतन्त्रलाई ओपन च्यालेन्ज दिने ?’

पत्रकार महासङ्घसँग छलफल भएको र सरकार मिडिया विधेयकलाई राम्रो बनाउने कुरामा सकारात्मक भएको पनि मन्त्री बाँस्काेटाले बताएका छन् l

उनले भने, ‘जहाँसम्म जरिवानाको कुरा छ, त्यस्ता विषयमा हामी सोच्न सक्छौँ, काउन्सिलले नै गर्ने वा अदालती निरूपणको विषय बनाउने? महासङ्घसित पनि यसमा छलफल भएको छ । विधेयकलाई राम्रो बनाउने कुरामा हामी सकारात्मक हुन्छौँ ।’

विधेयकलाई समृद्ध बनाउन आउने सबै कुरालाई स्वागत गर्ने र विधेयकमा सबै कुरा खराब नभएको पनि मन्त्री बाँस्काेटाको भनाई थियो ।

उनले भने, ‘विधेयकमा सबै कुरा खराब छैन, त्यसैले यसलाई फिर्ता लिनुपर्ने देखिँदैन । यो एउटा प्रस्ताव हो, धारणा हो, यसमा भएका केही व्यवस्थाले पछिल्ला प्रवृत्तिलाई सम्बोधन गर्न खोजेको छ ।’

युट्युबहरूले भ्रम छरेको भन्दै मन्त्री बाँस्काेटाले भने, ‘जसलाई जे पनि भनेको छ, जे पनि आरोप लगाएको छ, उत्तरदायी अलिकति पनि छैन, यतिसम्म पनि देखिएको छ संविधान संशोधन होइन खारेज गरौँ, यही हाे पत्रकारिता? यसलाई अलि नियन्त्रण गर्न खोज्यो भने प्रेस स्वतन्त्रतामाथि धावा बोल्यो भन्छन् ।’

मन्त्री बाँस्काेटाले निरङ्कुशताको रहलपहलले आज पनि फडाङफुडुङ गर्न खाेजेकाे आराेप लगाउँदै हिजो प्रेस स्वतन्त्रको माग नगरी पञ्चयताको भक्तिभाव गरेर हिँड्नेहरू, निरङ्कुश राजतन्त्रको गुणगान गाउनेहरूले अहिले स्वतन्त्र छ भनेर जे पनि गरेर हिँड्न पाइन्छ ? मन्त्री बाँस्काेटाकाे प्रश्न थियो ।

नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई कुटेको भनेर भ्रम फैलाएको बताउँदै मन्त्री बास्कोटाले भने, ‘हिजो-अस्ति मात्रै नेकपाको अध्यक्षलाई कुटेको भनेर हाली रहेका थिए, त्यो गर्ने हो अहिले ? नेताहरूलाई सिध्याएपछि, दशकै लडेर गणतन्त्र ल्याउनेलाई नै सिध्याएपछि यो गणतन्त्रकाे अस्तित्व कहाँ रहन्छ ?’

प्रतिक्रिया दिनुहोस्