Logo

सरकारले प्रशानिक काममा इतिहासमै फड्को मारेको मन्त्री पण्डितको दाबी



Spread the love

१५ भदौं, काठमाडौँ l सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि मुलुकमा नभएको दाबी गर्दै नेपालमा भन्दा छिटो कर्मचारी समायोजन भएको मुलुक विश्वमा कहीँ भए उदाहरण पेस गर्न सञ्चारकर्मीलाई समेत चुनौती दिएका छन् l

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृद्धिदर हासिल गर्ने कार्यमा इतिहासमै फड्को मारेको दाबी गरेका हुन् l

मन्त्री पण्डितले भने, “सङ्घीयता अन्तरगतको स्थानीय तह, प्रदेश र सङ्घमा प्रशासनिक रूपमा यति छिटो कर्मचारी समायोजन र सङ्गठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि भएको छैन l”

स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत विज्ञापन खुलाउने तयारी गरिएको पनि जानकारी मन्त्री पण्डितले दिए l

मन्त्री पण्डितले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि पनि काम गरिरहेको दाबी गरे l भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियतापूर्वक काम गरिरहेको मन्त्री पण्डितले दृष्टान्त पेस गर्दै मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने तर्क पनि गरेका छन् l

प्रतिक्रिया दिनुहोस्